site stats
बाह्रखरी :: Baahrakhari
खेल
गणेशमान सिंह रोड रेस असार १४ गते हुने

काठमाडौं । पाँचौँ वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो । 

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले सन् २०१४ देखि रोड रेस आयोजना गर्दै आएको छ । गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारेमा जानकारी दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु हुने भएको छ । त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ । 

पाँचौँ वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिस्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले पाँच हजार नगद पुरस्कार पाउनेछन् । 

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताए । 

यस दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रोड रेसमा करिब ४५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड रहेको छ । 

आयोजकले यस प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ । यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापनमा राजन खत्री छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्