site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीका ११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवाका लागि दौडधूप सुरु भएको छ । जेठ १६ मा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै रिक्त एसएसपीको दरबन्दी ११ पुगेको थियो ।

एसपीबाट एसएसपीमा बढुवाका लागि गृहसचिव नेतृत्वको बढुवा सिफारिस समिति आवश्यक पर्छ । गृहसचिव गोकर्णमणि दुवाडी देशबाहिर रहेका कारण बढुवा प्रक्रियामा ढिलाइ भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसएसपीको दरबन्दी रिक्त भएको दुई सातासम्म बढुवा नभएपछि प्रतिस्पर्धीबीच बढुवाका लागि तीव्र दौडधूप सुरु भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

११ जना एसएसपी बढुवाका लागि ०५३ सालमा भर्ना भएका टोली ०५६ र ०५८ मा भर्ना भएका टोलीबीच तीव्र दौडधूप छ । ०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत एसएसपीको प्रतिस्पर्धामा छन् ।  

यसरी नै तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश साह पनि एसएसपी बढुवाको दौडमा छन् । त्यसरी नै प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, प्रकाश रानाभाट र कमल थापा एसएसपीको प्रतिस्पर्धामा छन् ।

उनीहरूबाहेक राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित बढुवाको लाइनमा छन् ।

उनीहरू डीएसपीबाट विभिन्न मितिमा एसपीमा बढुवा भएका थिए । यसरी एसएसपीका प्रतिस्पर्धीमध्ये केही विभागीय कारबाही भोगेकाहरू समेत छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विभागीय कारबाही भोगेका प्रहरी अधिकारीलाई बढुवामा रोक्ने गृह मन्त्रालयको तयारी छ । यसरी ३३ जना प्रतिस्पर्धीमध्ये ११ जना मात्रै एसएसपीमा बढुवा सिफारिस हुनेछन् ।

प्रहरीमा एसएसपीको प्राविधिकबाहेक ५७ दरबन्दी छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्