site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अस्टिनमा भव्य ‘नेपाल-डे परेड’

अमेरिका । देश बाहिर भावनाको नेपाल बाँचिरहेका प्रवासी नेपालीहरुलाई नेपाली हुनुको गर्व गर्न लायक केही अवसरहरु जुट्छन्। त्यस्ता अवसरहरु भ्यायसम्म नेपालीहरु छुटाउँदैनन्। हो, हिजो त्यस्तै एक ऐतिहासिक महत्वको दिनमा टेक्ससमा बस्ने नेपालीहरुले पर्व मनाए। नेपाली सांस्कृतिक भेष-भुषा, पहिरन र बाजागाजा सहित उत्सवमा सहभागी भए। अमेरिकी राज्य टेक्ससको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा आयोजित नेपाल-डे परेडमा करिब एक हजार नेपालीहरुको सहभागिता रहेको थियो। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी), नेपाल अमेरिका पत्रकार संघ (नेजा), लबक नेपाली सोसाइटी, वेको नेपाली समाज, सुदुर पश्चिम नेपाली समाज, लुम्बिनी नेपाली समाज, स्यानएण्टोनियो नेपाली एशोसियसन लगायतका दर्जनौं नेपाली संघसंस्थाहरुको सक्रिय सहभागिता रहेको बृहत ऱ्याली बृहत्तर अस्टिनको हुटो शहरमा आयोजना भएको थियो। हुटो सिटी हलबाट शुरु भएको ऱ्यालीमा हुटो सिटीका मेयर माइक स्नाइडर लगायत राउण्ड रक, यूलेस लगायत वरिपरिका सिटीका निर्वाचित प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। 

प्रवासमा बस्ने नेपालीहरुलाई खुसी हुन धेरै केही चाहिंदैन। कसैले नेपाली बोलिदियो, नेपाली भाषा, संस्कृति र चाड्बाडका बारेमा बोलिदियो भने त खुसीको सीमा नै नहुने। झन् नेपालीहरुको सबभन्दा धेरै बसोबास भएको राज्य भनेर चिनिएको टेक्ससको संसदबाट नै फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनमा नेपाल-डे परेडमा सहभागी हुन पाउनु भनेको नेपालीहरुको खुसी र गर्वको सबै सीमा र पर्खालहरु भत्कनु जस्तै हो । नेपाली भाषा, धर्म र संस्कृतिका लागि अग्रसर भइरहेका पहिलो पुस्ताका नेपालीहरुले नेपाली समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन धेरै परिश्रम गरेका छन् । त्यसैको नतिजा हो कि अहिले नेपालीहरुको बाहुल्यता भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन समेत बनिरहेका छन् वा बन्ने क्रममा छन् । अस्टिनको नेपाली समुदायले गत वर्ष नै भव्य पशुपतिनाथ मन्दिर बनाएर अमेरिकामा नै पहिलो नेपाल कै पशुपतिनाथ मन्दिरको झल्को दिने मन्दिर बनाएर नेपाली समुदायलाई ठूलो गुन लगाइसकेको छ। अहिले अस्टिनको पशुपतिनाथ मन्दिर नेपाली एवं अन्य हिन्दु धर्मालम्बीहरुका लागि तिर्थ नै भएको छ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्टिन, डालास र ह्युस्टनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्ससको संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा गर्ने अवस्थासम्म ल्याइपुऱ्याएको हो। टेक्सस हाउस डिस्ट्रिक्ट १०५ की सांसद टेरी मेजाको अग्रसरतमा २०२३ को फेब्रुअरी १५ का दिन ‘नेपाल डे’ घोषणा हुन सकेको थियो। टेक्ससको संसद भवनमा ‘नेपाल-डे’ घोषणा हुँदा समेत प्रत्यक्षदर्शी भएकाले दुई वर्ष अघिको त्यो खुसी हिजो हुटो सिटीको प्रांगणबाट शुरु भएको नेपालीहरुको ऐतिहासिक ऱ्यालीमा सहभागी हुँदा थपिएको खुसी शब्दमा बयान गर्न सकिन्न। नेपाली र अमेरिकी झण्डा बोकेका, दौरा सुरुवाल, ढाका टोपी, सारी चोलो सहित विभिन्न जातीय/ साऱ्स्कृतिक भेष-भुषामा सजिएका नेपालीहरुले पन्चे बाजा सहित विभिन्न नेपाली बाजामा जातीय/ सांस्कृतिक नृत्यको प्रदर्शन गरेका थिए। ढिकी जांतो, जिवित देवी कुमारी, गौतम बु्द्ध समेत ऱ्यालीको आकर्षणका रुपमा समावेश थिए। नेपाल डे परेडमा नेपालीहरुसंगै सहभागी हुटो सिटीका मेयर माइक स्नाइडरले नेपाली समुदायले स्थानीय व्यवसाय तथा सांस्कृतिक विवधता प्रवर्द्धनमा पुऱ्याएको योगदानको निकै प्रशंसा गरेका थिए। मेसर स्नाइडरले आगामी वर्ष झन् बृहत ऱ्याली गर्न नेपाली समुदायलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल-डे घोषणाका लागि अनवरत खटेका नेपाली अभियन्ता प्रभात दिक्षित, अस्टिन, ड्यालस, ह्युस्टन, लबक, वेको  नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थितिमा सम्पन्न नेपाल डे परेड पश्चात हुटोस्थित पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा युलेस सिटी काउन्सिलका काउन्सिलम्यान एवं डेपुटी मेयर टिका पौडेल, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएएचका सल्लाहकार द्रोण गौतम, हिमालय खबरका प्रवन्ध सम्पादक एवं नेजाका पूर्व अध्यक्ष विकास राज न्यौपाने, वेको नेपाली समाजका अध्यक्ष प्रकाश ज्ञवाली, ग्यान्सका पूर्व अध्यक्षहरु भोजराज भट्ट, देवराज न्यौपाने, गेहेन्द्र केसी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालमा बागमती प्रदेशसभाका सदस्य मधुसुधन पौडेल, गैर आवासीय नेपाली संघ, अमेरिकाका उपाध्यक्ष द्वय नेत्र पाण्डे र भानु खरेल, नेजाका पदाधिकारी एवं सदस्य र स्थानीय संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो। 
 
ग्यान्सका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा सम्पन्न नेपाल डे समारोहमा वक्ताहरुले नेपाल-डेलाई सबै टेक्ससबासी नेपालीहरुले उत्सवका रुपमा मनाउनु पर्ने धारणा राखेका थिए। नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि संधै सक्रिय रहने प्रतिबद्धता गरेका नेपाली समुदायका अगुवाहरुले आगामी बर्ष टेक्ससको अर्को शहरमा नेपाल-डे
परेड आयोजना गरिने जानकारी समेत गराए।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्