site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली विद्यार्थीको समस्या समाधानको पहल भइरहेको छ : परराष्ट्र प्रवक्ता ढकाल

काठमाडौं । नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधान गर्न पहल सुरु गरेको छ ।

“नयाँदिल्लीस्थित नेपाली दूतावासले सम्बन्धित विश्वविद्यालयसँग सम्पर्क र समन्वय गरिरहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बाह्रखरीसँग भने, “समस्या समाधानको पहल गरिरहेको छ ।”

केआईआईटीको होस्टलमा आइतबार साँझ एक २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगेर छोडिएको थियो ।

भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा बुझ्ने काम भइरहेका बताएका थिए ।

“भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मृतक छात्रा बी.टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुर्व्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्