site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

वाइड बडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले १० जनालाई दोषी ठहर गरी सजाय सुनाएको छ भने २२ जनालाई सफाइ दिएको छ । वाइड बडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको पनि अदालतले ठहर गरेको छ ।

यस क्रममा विशेष अदालतले वाइड बडी विमान खरिद गर्न प्रारम्भिकरूपमा कारबाही अगाडि बढाउने वायुसेवा निगमको निर्णयमा अख्तियारले प्रश्न नउठाइएकोमा विशेष अदालतले न्यायिक टिप्पणी गरेको छ । स्मरणीय छ, हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नै खरिदको प्रारम्भिक निर्णय गर्ने निगमको सञ्चालक समितिका अध्यक्ष थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेष अदालतले राईको अध्यक्षतामा भएको निर्यणकै निरन्तरतामा विमान खरिद भएको देखिएको तर अख्तियारको अनुसन्धानमा भने सुरु निर्णयका विषयमा उल्लेख नभएकोमा प्रश्न उठाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विशेष अदालतले गरेको यस्तो न्यायिक टिप्पणीले भ्रष्टाचारको अनुसन्धानमा स्वार्थको द्वन्द्व हुनेगरेको स्पष्ट हुन्छ ।

प्रारम्भिक अनुसन्धानमै यसरी स्वार्थको द्वन्द्व देखिएपछि मुद्दा त कमजोर हुन्छ नै संस्थाको साखमा पनि प्रश्न उठ्छ । यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख गिर्न नदिने हो भने प्रमुख आयुक्त राईले अदालतको न्यायिक टिप्पणीको नैतिक पक्षको मनन गर्नु उचित देखिन्छ । 

नेपालको संविधान र प्रचलित ऐनहरूले अख्तियारलाई निकै शक्तिशाली संस्था बनाएको छ । तर, यसको इतिहास भने सधैँ नै विवादास्पद रहिआएको छ । सम्भवतः राजनीतिक दलका नेताको कृपापात्र निजामती सेवाबाट निवृत्त कर्मचारीलाई  प्रमुख आयुक्त नियुक्त गरिएकाले पनि अख्तियारको कामकाज विवादास्पद हुनेगरेको हो ।

जे होस्, अख्तियारको साख जोगाउने हो भने विेशेष अदालतले गरेको न्यायिक टिप्पणीको सम्मान गरिनुपर्छ । प्रमुख आयुक्त राई संलग्न निर्णयको अनुसन्धान र उल्लेख नभएकोमा गरिएको टिप्पणीलाई सामान्य रूपमा लिइयो भने त्यो प्रत्युत्पादक हुन सक्छ । हेरौँ, प्रमुख आयुक्त राईले न्यायिक टिप्पणीको सम्मान गर्छन् कि बल मिच्याइँ गरेर स्वार्थको द्वन्द्व कायम राख्छन् ? 
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्