site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुरका प्रशिक्षक दासानायके भन्छन्– अनिलको कप्तानीले अच्चमित बनाएको छ

काठमाडौं । नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान अनिल साहको प्रशंसा गरेका छन् । 

अनिलको कप्तानीमा एनपीएल खेलिरहेको जनकपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा सोमबार कर्णाली याक्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । त्यसअघि गत शनिबार प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्स्विरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबारको खेलपछि पुबुदुले गरिरहेको कप्तानी निकै राम्रो भएको भन्दै त्यसले आफूलाई अचम्मित तुल्याएको बताए ।

“हाम्रो टिमलाई हामीले के गर्नुपर्छ भन्ने थाहा छ । पछिल्ला तीन खेल हेर्ने हो भने प्रतियोगितामा नेपालीभन्दा विदेशी खेलाडी संघर्ष गरिरहेका छन् । अनिल र आसिफसँगै हुनुमा हामी भाग्यमानी बन्यौँ,” प्रशिक्षक दासानायकेले भने, “उनीहरूलाई यहाँका सबै बलरहरूबारे थाहा छ । हामीले दुई खेलमा गर्न आवश्यक रहेका कुराहरू देखाइसक्यौँ । अब आगामी खेलमा पनि यस्तै लय राख्ने लक्ष्यमा छौँ । अनिलले कप्तानको रूपमा पछिल्लो दुई खेलमा निकै राम्रो गरेका छन् ।”

प्रशिक्षक दासानायकेले कर्णालीविरुद्ध ओपनर ब्याटर शिखर धवनका लागि मात्रै नभई आफ्नो टिमले विपक्षी टिमका सबै खेलाडीका निम्ति फरक योजना बनाएको बताए ।

“शिखर धवनका लागि मात्रै हैन । ब्याटिङमा आएका सबै ब्याटरहरूका लागि हाम्रो फरक योजना थियो,” उनले थपे ।

लगातार दोस्रो जित निकालेको जनकपुर चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा पहिलो खेल खेलेको कर्णाली भने तालिकाको पाँचौँ स्थानमा छ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्