site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी नेतृत्वमा ऐतिहासिक काम भएका छन्, जनतालाई भनौँ : प्रचण्ड
फाइल तस्बिर ।

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको दाबी गरेका छन् । माओवादी केन्द्र गोरखाले सदरमुकाममा आज आयोजना गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए ।

“एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए ।

अध्यक्ष प्रचण्डले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्‍याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे ।

“पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्‍यौँ,” उनले भने, “त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्‍यौँ ।”

तेस्रोपटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको प्रचण्डको भनाइ छ ।

“सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस्, त्यो हाम्रो नेतृत्वको सरकारले गर्‍यो ।”

माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष दाहलले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रकाविरुद्ध हुने सबैखालका षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्