site stats
बाह्रखरी :: Baahrakhari
कला
तिजका अश्लील र अपाच्य गीत रोक्न सरकारलाई प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अमर्यादित गीत सार्वजनिक गर्ने कलाकारलाई स्पष्टीकरण सोध्ने भएको छ । लोक तथा दोहोरी र तिज गीतका नाममा विकृति र विसंगति फैल्याउने कलाकारलाई प्रतिष्ठानले स्पष्टीकरण सोध्ने भएको हो । 

आज बसेको प्रतिष्ठानका पदाधिकारीहरूको बैठकले आफ्नो संस्थाभित्रका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अध्यक्ष रीता थापाले जानकारी दिइन् । 

“प्रतिष्ठानभित्रका साथीहरूलाई संस्थाको विधि विधान बाहिर गएर गीत गाउन पाइँदैन । समाजमा अपाच्य हुने गीत गाउनु गलत हो भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका छौँ,” रीता भन्छिन्, “प्रतिष्ठानबाहिरका साथीहरूलाई हामीले मर्यादित र सभ्य गीतमात्रै गाउन आग्रह गर्ने निर्णय गरेका छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतसँगै प्रस्तुति र भिडियो पनि अश्लील भएको गीतको सन्दर्भमा त्यस्ता गीत सच्याउन र सकेसम्म डिलिट गरिदिन आग्रह गर्ने उनको भनाइ छ । प्रतिष्ठानमा आबद्ध सर्जक तथा स्रष्टालाई संस्थाको सुविधाबाट वञ्चित गरिने उनले जानकारी दिइन् । 

यसअघि पनि प्रतिष्ठानले संगठित ससदस्यलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने, सदस्यता निलम्बन गर्ने तथा प्रतिष्ठानबाट दिने सुविधाबाट वञ्चित गर्दै आएको थियो । 

“हामी सामाजिक संस्था भएकाले गर्न सक्ने भनेको आग्रह र अनुरोधमात्रै हो । कारबाही गर्ने अधिकार हामीसँग छैन,” अध्यक्ष रीता भन्छिन्, “राज्यको निकाय भएको भए कारबाही गर्न सकिन्थ्यो होला । तर, हामीले गर्ने अनुरोधमात्रै हो ।” 

तिजका गीत तथा भिडियो द्विअर्थी, अश्लील तथा अपाच्य भएको भन्दै चौतर्फी टिप्पणी हुन थालेपछि प्रतिष्ठानले पदाधिकारी बैठक बोलाएर यसको नियन्त्रण तथा न्यूनीकरणका लागि रणनीति तय गरेको हो । 

अहिले बजारमा लोकप्रिय र चलेका कलाकारले नै अपाच्य गीत गाउन र प्रस्तुति दिन थालेपछि प्रतिष्ठानले आफ्नोतर्फबाट त्यसको न्यूनीकरणको प्रयास गरिरहेको छ । अग्रज र लोकप्रिय कलाकारलाई रोक्न नसके भोलिका दिनमा यसले थप बढावा पाउने प्रतिष्ठानको निष्कर्ष छ । 

त्यसैले केही दिन अगाडिमात्रै प्रतिष्ठानका पदाधिकारीले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर एसएसपी सानुराम भट्टराईसँग भेटेर यसबारे जानकारी गराएका थिए । उनीहरूले लोक तथा दोहोरीको क्षेत्रमा देखिएको विकृति न्यूनीकरणका निम्ति आग्रह गरेका थिए ।

विकृति भित्र्याउने कलाकारलाई बोलाएर सम्झाउन र सम्झाउँदा पनि नमाने जिल्ला प्रशासन कार्यालयबाट मुद्दा चलाउन आग्रह गरेका थिए । जवाफमा एसएसपी भट्टराईले अपुष्ट जानकारी आए पनि उजुरी नआउँदा कारबाही गर्न नसकिएको भन्दै यसमा आगामी दिनमा प्रहरीलाई सहयोग गर्न आग्रह गरेका थिए । 

‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’, ‘दिउँला बरी लै’, ‘विस्तराले पोल्यो’, ‘मादलु घन्काउँदै’ जस्ता अश्लील र द्विअर्थी शब्द भएका गीत पछिल्लो समय सार्वजनिक भएका छन् । यीमध्ये ‘विस्तराले पोल्यो’ र ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’मा शान्तिश्री परियारको स्वर छ । ‘मादलु घन्काउँदै’मा प्रिती आलेको स्वर छ । यी गीतको शब्द जति टिप्पणीयोग्य छ, त्यति नै यी गीतका भिडियो पनि अमर्यादित छन् । 

अघिल्ला दुई वर्ष केही सव्य देखिएका तिज गीत यो वर्ष अमर्यादित देखिएका छन् । 

राज्य स्वयं तिज गीतमा देखिएको विकृति न्यूनीकरणमा नलागे यो क्रम बढ्दै जाने प्रतिष्ठानको निष्कर्ष छ । उसले राज्यलाई तदारुकता देखाएर तिज गीतको मौलिकता रक्षा गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्