site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई कविता

ढुंगा हुन सकिनँ !
म ढुंगा हुन सकिनँ 
ढुंगा भएरै देउता हुन पाउनु
ढुंगा भएरै कठोर हुन पाउनु
ढुंगा भएरै अजम्बरी हुन पाउनु
लाग्छ,
ढुंगाको पनि आफ्नै सुन्दरता छ 
ढुंगाबाट के हुन सक्दैन ?
ढुंगा हिमाल हुनसक्छ 
ढुंगा कृति हुनसक्छ
नदीको बगर,
बिसौनी चौतारी हुनसक्छ

म ढुंगा हुन सकिनँ 
तैपनि ऊ भन्छे– हजुरको मन त ढुंगाकै रहेछ !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पशु
पशुहरू पशु भएकै कारण 
मानिसहरूभन्दा कैयौँ हिसाबले उत्कृष्ट हुन सके
पशुहरूले कहिल्यै एउटा शब्दको धेरै अर्थ लगाएनन्
पशुहरूले सिकार गर्नकै लागि कसैलाई साथी बनाएनन्
छलकपट गरेर केही गरेनन् 
जे गरे त्यो पशुको स्वभावका कारण गरे
मानिसले जस्तो 
कसैलाई दास बनाएनन्, भेदभाव गरेनन् 
यौनका लागि प्रेम गरेनन् 
उनीहरूले प्रेम गरेजस्तो ढोँग पनि कहिल्यै गरेनन्
उनीहरू एकअर्कासँग लडे, भिडे
तर, लडेको नाटक गरेनन् 
मिलेको नाटक गरेनन् 
हाँसेजस्तो गरेनन्, रोएजस्तो गरेनन् 
भगवान् बनेनन्, भगवान् बनाएनन्

पशुहरू पशु भएकै कारण 
मानिसहरूभन्दा कैयौँ हिसाबले उत्कृष्ट हुन सके !
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्