site stats
बाह्रखरी :: Baahrakhari
देश
ढिस्कोले पुरिएर बेपत्ता महिला मृत अवस्थामा भेटिन्

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् ।

आज साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता भएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामी पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

माटोले पुरिएर कावासोती नगरपालिका–५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र  २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो । चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्