site stats
बाह्रखरी :: Baahrakhari
देश
गोदावरीका प्रमुख र उपप्रमुख मिलेर पाँच वर्षमा कसरी गरे एक अर्बभन्दा बढी भ्रष्टाचार ? 

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले उनीहरूले आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्मको अवधिमा उक्त रकम भ्रष्टाचार गरेको देखाएको हो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा उक्त भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अख्तियारले उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेसँगै उनीहरू स्वतः निलम्बनमा परेका छन् । अख्तियारले सोमबार प्रमुख महर्जन र उपप्रमुख अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूलाई भ्रष्टाचारमा अन्य सातजनाले सघाएको अख्तियारको अनुसन्धानले देखाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सन र यसका सञ्चालक रवि महर्जन, निराकर ढुंगा रोडा उद्योग प्रा.लि. र यसका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रा.लि. र यसका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग प्रालि र यसका सञ्चालक शशिराज शाही तथा वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालि र यसका सञ्चालक वीरेन्द्र महर्जन रहेका छन् । 

अख्तियारका अनुसार उनीहरूले पाँच वर्षमा क्रसर, खानी तथा नदीजन्य पदार्थमा राजस्व उठाउँदा एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेका हुन् । गोदावरी नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा, वेस, चिप्स) आदिमा सरकारी दररेटभन्दा कम मात्र कर उनीहरूले उठाएका थिए ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले राजस्व निर्धारण गर्दा नेपालको संविधान, संघीय ऐन, वाग्मती प्रदेश (तत्कालीन प्रदेश नं.३) ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी गरेको थियो ।

नगरपालिकाले आवश्यक प्रमाण संकलन नगरी वाग्मती प्रदेशको आर्थिक ऐन, २०७५ को दफा ९ ले निर्धारण गरेको राजस्व दर प्रतिघनफिट ९ रुपैयाँभन्दा घटी प्रतिघनफिट २.२५ रुपैयाँ मात्र राजस्व दर निर्धारण गरेको पाइएको थियो ।

ढुंगा, गिट्टी, रोडा, बालुवा, ग्राभेल र माटोको बिक्री निकासी शुल्क ९ रुपैयाँ प्रतिघनफिटको सट्टा २.२५ रुपैयाँ प्रतिघनफिट असुल गर्दा ६.७५ रुपैयाँ प्रतिघनफिट रकमको प्रत्यक्ष लाभ खानी उद्योग तथा क्रसर व्यवसायीहरूलाई दिएको देखिएको अख्तियारले जनाएको छ । 

नेपाल सरकारले प्राप्त गर्ने मूल्य अभिवृद्धि कर, वाग्मती प्रदेश सरकारको राजस्व हिस्सा ४० प्रतिशत र नगरपालिकाले प्राप्त गर्ने ६० प्रतिशत हिस्सा र ठेक्का लगाएको रकममा समेत १० प्रतिशत राजस्व छुट दिई उनीहरूले कसुरजन्य कार्य गरेको ठहर अख्तियारले गरेको छ । 

उनीहरूले ढुंगा, गिट्टी, रोडा, बालुवा, ग्राभेल र माटोको बिक्री निकासी गर्दा आर्थिक वर्ष २०७५/०७६ मा १७ करोड ८९ लाख ३५ हजार ५०० रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा २१ करोड २१ लाख ९७ हजार ५० रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा १८ करोड ६३ लाख २१ हजार ५८९ रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ मा २० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ र आर्थिक वर्ष २०७९/०८० मा २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्