site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण– दोस्रो चरणको अनुसन्धानमा चार भारतीयसहित नौ जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान निम्ति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पक्राउमा परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन् ।

सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो । त्यही क्रममा पक्राउ परेकाहरूमध्ये चार जान भारतीय सुन कारोबारी छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार, सुन पसल सञ्चालन गरी अवैध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरूलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड, सोहीका दिनेश भन्ने धिरज दिनेश वैटे छन् ।

त्यस्तै सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपालीमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिकाका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका कान्छामान लामा छन् । एक जना तिब्बती नागरिक गंगा टासीलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको छ ।

सीआईबीले उनीहरूविरुद्धको अनुसन्धान गोप्य राखेको छ । गत साउन २ मा सवारी साधनको ‘ब्रेक सू’मार्फत हङकङहुँदै नेपाल भित्रिएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । 

पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो । पहिलो चरणको अनुसन्धान सकेको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो । 

६० किलो बरामद भएको सुनबाट अनुसन्धान थालेको सीआईबीको सोही समूहले रेडी ट्रेड कम्पनीसहित अन्य विभिन्न डमी कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो । 

पक्राउ परेकाहरूमाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको थियो । पक्राउ परेकाहरूमा ९ चिनियाँ र २० जना नेपाली थिए । उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

तर, सीआईबीले पहिलो चरणको अनुसन्धान गर्दा त्रुटि गरेको भन्दै सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगले पाँच महिना लगाएको छानबिनको प्रतिवेदन चैत १ मा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । 

उक्त प्रतिवेदनमा पहिलो चरणको अनुसन्धानमा त्रुटि गरेको औल्याएको थियो । उक्त प्रतिवेदनका आधारमा पहिलो चरणको अनुसन्धान गर्ने सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको टिमलाई नै सीआईबीबाट हटाएर एआईजी श्यामलाल ज्ञवालीलाई पठाइएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्