site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका पूर्वराष्ट्रपति अहमदीनेजादद्वारा राष्ट्रपतिका लागि उमेदवारी दर्ता

तेहरान । इरानका कट्टरपन्थी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादले यसै महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उमेदवारी दर्ता गराएका छन् । गत मे १९ मा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा आगामी जुन २८ मा मतदान हुँदै छ ।

सन् २००५ देखि २०१३ सम्म इरानी राष्ट्रपतिका रूपमा लगातार दुई कार्यकाल सम्हालेका ६७ वर्षीय अहमदीनेजादले विशेष गरी इरानको आणविक कार्यक्रम र इजरायलको बारेमा उनको भड्काउपूर्ण टिप्पणीलाई लिएर पश्चिमा मुलुकहरूसँगको सम्बन्धमा गतिरोध देखिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपतिपदका सबै आकांक्षीहरूजस्तै उनको उमेदवारी पनि सार्वजनिक पदका लागि सबै उमेदवारहरूको निगरानी गर्ने १२ जना न्यायविद्हरूको रूढीवादी प्रभुत्व भएको संस्था गार्जियन काउन्सिलको अनुमोदनको पर्खाइमा छ ।

यसअघि सन् २०२१ र २०१७ को चुनावमा राष्ट्रपतिको दौडमा भाग लिनका लागि अहमदीनेजाद अयोग्य घोषित भएका थिए । “राष्ट्रिय क्षमताको अधिकतम उपयोग गरेर देशका सबै समस्या समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु,” आइतबार गृह मन्त्रालयमा आफ्नो उमेदवारी दर्ता पेस गरेपछि उनले भने ।

सन् २००५ मा, अहमदीनेजादले इरानको कट्टर शत्रु इजरायललाई ‘मानचित्रबाट सफाया’ गर्न लागेको र प्रलय एक ‘मिथक’ भएको बताएपछि उनले विश्वव्यापी बदनामी कमाएका थिए ।

सन् २००९ मा अहमदीनेजादको विवादास्पद पुनर्निर्वाचनको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरू भए र राज्यको प्रतिक्रियाले दर्जनौँको मृत्यु भयो र हजारौँ गिरफ्तारीहरू भए ।

राष्ट्रपति पदको उमेदवारी दर्ताका लागि बिहीबार दर्ता खुला भएको थियो भने सोमबार बन्द हुनेछ । संसद्का पूर्वसभामुख अली लारिजानी, पूर्वआणविक वार्ताकार सइद जलीलीलगायत अन्य प्रमुख व्यक्तित्वले पनि आफ्नो उमेदवारी दर्ता गराएका छन् । गार्जियन काउन्सिलले आफ्नो परीक्षण प्रक्रिया पूरा गरेपछि जुन ११ मा उमेदवारको अन्तिम सूची सार्वजनिक गर्नेछ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्