site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युक्त सुवेदी ‘सुयुक्ता’का दुई गजल

गजल – १
धोकाको बदला पनि त धोका दिन सकिएन
निष्ठुरीले बिर्सियौ भन्दैमा बिर्सिन सकिएन

आजकल सताइरहन्छ मलाई एउटै सवालले
ओ प्रिय, तिमी र म एक हुन किन सकिएन

फूलजस्तो हृदयमा पनि काट्ने धार पलाएपछि
यस्तै हुने नै रहेछ मायाबाट सम्हालिन सकिएन

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोचेजस्तो मात्रै पनि होइन रहेछ जिन्दगानी 
मनमा एउटा तनमा अर्को अल्झिन सकिएन

अचेल तिमीबिना म, बेसहारा पनि यति भएछु
तिम्रो साथ छुटेपछि त फेरि उभिन सकिएन

गजल – २
सागरसम्म पुग्ने गरी आँसु झार्न मन छ 
फेरि कहिल्यै नबग्ने गरी निखार्न मन छ

धेरै दुख्न थालेपछि बिर्सिनेको सम्झनामा 
आफ्नै मुटु झिकेर पत्थरमा पछार्न मन छ

लाग्दै छ तिमीले दिन अब केही छैन बाँकी 
चिनो छोडिएका कसिंगर बढार्न मन छ

प्रिय तिमीले उजाड बनाएको यो दिलमा
तिमी नै लोभिने गरी फूल उमार्न मन छ

कहिले मन कहिले जीवन भत्कायौ गयौ
तर पनि जोडजाम गरी सपार्न मन छ
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०५:४४
प्रतिक्रिया दिनुहोस्