site stats
बाह्रखरी :: Baahrakhari
देश
राहदानी विभागले भन्यो– अहिलेकै अवस्थामा जीबी राईको पासपोर्ट रद्द गर्न मिलेन

काठमाडौं । गितेन्द्रबाबु राई (जीबी)को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्रचार गरेको थियो ।

तर, राहदानी विभागले भने अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नमिल्ने जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पासपोर्ट रद्द गर्ने कि नगर्ने भन्नेबारे कानुनी परामर्शपछि अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नसकिने राहदानी विभागका निर्देशक एवं प्रवक्ता रमेश कुमार चर्मकारले जानकारी दिए ।

उनले भने, “राहदानी ऐन, २०७६ अनुसार पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न मिलेन ।”

अनुसन्धान अधिकारीले अनुसन्धानका क्रममा रोक्का गर्न सक्ने प्रावधान कानुनले दिए पनि पासपोर्ट नै बरामद नभएको अवस्थामा रद्द गर्न नमिल्लने उनको भनाइ छ ।

जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौैको स्वर्णलक्ष्मी सहकारीको अर्बाैं रकम हिनामिना गरेको आरोप छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ ।

सोही अभियोगमा आरोपी ओखलढुंगाका जीबीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस समेत जारी गरेको छ । तर, उनी भने पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्