site stats
बाह्रखरी :: Baahrakhari
कला
मिस युनिभर्स नेपाल, २०२४ का लागि आवेदन खुला

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल'का लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनम ‘मिस युनिभर्स नेपाल, २०२४’ का लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले मिस युनिभर्स नेपाल, २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौँ । यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ,” उनले पत्रकार सम्मेलनमा भनिन्, “म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरूलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरूको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।”

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेस गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन् ।

सहभागीहरूले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरू छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धिहरू छानिनेछ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनिहरूको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरूले दुईदिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष  २२ प्रतिस्पर्धिहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरूलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस युनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३औँ मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्