site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘सी’ डिभिजन खेलिरहेका ९ क्लबले बुझाए एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन क्लब खेलिरहेका नौवटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

क्लबहरूले लिगमा आबद्ध आरसी–३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबविरुद्धको खेलमा अर्कै क्लबमा आबद्ध खेलाडीलाई निमयविपरीत खेलाएको र ‘बी’ डिभिजन लिगको मिति घोषणा नभए ‘सी’ डिभिजन लिग नै स्थगित गर्नुपर्ने अवस्था आउने सक्ने भन्दै अध्यक्षको ध्यानाकर्षण गराएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एन्फा अध्यक्षलाई पत्र बुझाउनेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्रका रहेका छन् । 

पत्रमा क्लबहरूले एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम स्मरण गराउँदै आरसी–३२ ले ‘बी’ डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको समेत माग गरेका छन् । 

चैत २२ गते खालीबारीविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको क्लबहरूको भनाइ छ । तर, अटेर गरी आरसी–३२ ले वैशाख ४ मा महावीर क्लबसँगको खेलमा मगरलाई टिममा राखेकोमा पनि क्लबहरूले नियमबमोजिम कारबाहीको माग गरेका छन् । मगरले वैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनु पर्ने फिफाको नियम भएको पत्रमा उल्लेख छ । 

यस्तै, क्लबहरूले गत चैत २५ गते हुने भनिएको ‘बी’ डिभिजन लिग अहिलेसम्म नभएकोमा पनि आपत्ति जनाएका छन् । ‘बी’ डिभिजन सञ्चालनको मिति ‘सी’ डिभिजन लिगको सातौँ चरणको समाप्तिसम्म घोषणा गर्न उनीहरूले माग गरेका छन् । ‘बी’ डिभिजन लिग घोषणा नभए 'सी' डिभिजन लिग बीचैमा स्थगित हुन सक्नेमा पनि उनीहरूले सचेत गराएका छन् ।

क्लबहरूले ‘सी’ डिभिजन लिगमा निर्णायकको विवादित निर्णयलाई छानबिनको दायरामा ल्याउन पनि माग गर्दै सक्षम निर्णायकबाट खेल सञ्चालन गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्