site stats
बाह्रखरी :: Baahrakhari
देश
सबै शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा योग्यताका आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थामा राजनीतिको गन्ध आउन दिनु नहुनेमा जोड दिए । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीसँग त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीति अन्त्य गर्नुपर्ने बताए । उनले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलबाड नहुने भनेर राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रा. डा. अर्जुन कार्कीले प्राज्ञिक क्षेत्रको सुधारका निम्ति राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिबद्धताका आधारमा छान्नुपर्ने बताए । दलीय निकटताका हिसाबले नभएर योग्य र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने उनले उल्लेख गरे । उनले विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्त्वपूर्ण पक्ष भएको बताए ।

उद्यमी एवं वैज्ञानिक डा. प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिबद्धता रहेको बताइन् । सबै राजनीतिक दलहरूले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिबद्धता जनाउनुपर्नेमा उनले जोड दिइन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्रको सुधारमा गम्भीर रहेको भन्दै ‘मेरिटोक्रेसी’को अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गर्ने बताए ।

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकर लाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असीम ढकाल, डा. भगवान कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमासहित ६६ जना प्राज्ञिक छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्