site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युक्त सुवेदी सुयुक्ताका २ गजल

गजल — १ 
कहिले जित भयो, कहिले हार भयो तिमीसँग
यसै गरीगरी मेरो, घरबार भयो तिमीसँग

कहाँ जन्मेर कहाँ पुग्छ, यात्रा जिन्दगीको
अबको यात्रा सँगै, यही विचार भयो तिमीसँग

पुलकित छँदै छ जीवन, तिम्रो आगमनले
बेजोड जम्यो जोडी हाम्रो, दमदार भयो तिमीसँग

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लाग्छ, यसै गरीगरी बितोस् जिन्दगानी
मनभित्रका सपनाहरू, साकार भयो तिमीसँग 

मन फेर्न मिल्ने भए, धड्कन फेर्न मिल्ने भए 
बाँकी यही त रह्यो अरू, हजार भयो तिमीसँग

०००

गजल — २
लाग्दै छ प्यारको बदला प्यार को गर्छ !
झरेर जाने आँसुको व्यापार को गर्छ !

सफर एक्लै त गर्नु छ सानो मन नगरी 
झन् यही मन सानो भए उद्धार को गर्छ ! 

म रातभर यही सोचेँ, सकिनँ निदाउनै 
आफ्नै थकित तनको उपचार को गर्छ !

माफ गरिदिन्छु है साँच्चै मागे तिमीले 
एकपटक भन्दै फेरि बारबार को गर्छ !

कोही त साथ दिने आए हुन्थ्यो नि बरै 
खास साथ नदिनेको इन्तजार को गर्छ !
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्