site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले ११औँ महाधिवेशनसम्ममा १० लाख पार्टी सदस्य बनाउने, एकमुष्ट लेबी तिरिदिए कारबाही 

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनसम्ममा १० लाख सक्रिय सदस्य बनाउने लक्ष्य लिएको छ । महासचिव शंकर पोखरेलले जारी गरेको सदस्यता नवीकरणसम्बन्धी निर्देशनमा प्रत्येक वडामा मतदाता संख्याको न्यूनतम तीन प्रतिशत र जिल्लामा ६ प्रतिशत सदस्य पुर्‍याउने गरी कार्ययोजना बनाउनुपर्ने उल्लेख छ ।

“पार्टी केन्द्रको निर्देशन कार्यान्वयन गर्न पार्टी सदस्य संख्या प्रत्येक वडामा मतदाता संख्याको न्यूनतम तीन प्रतिशत र जिल्लामा ६ प्रतिशत पुर्‍याउने गरी जिल्ला, पालिका र वडा कमिटीले कार्ययोजना बनाउनुपर्छ,” महासचिव पोखरेलले निर्देशनमा भनेका छन्, “ठोस जिम्मेवारी दिएर कार्यकर्ता परिचालन गर्नुपर्छ । ११औँ महाधिवेशनसम्ममा सक्रिय सदस्य संख्या नै १० लाख पुर्‍याउनुपर्नेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रत्येक गाउँपालिकाले एक वर्षमा कम्तीमा ५० जना, नगरपालिकाले १०० जना, उपमहानगरले १५० जना र महानगरपालिकाले २०० जना ४० वर्ष मुनिका युवाहरूलाई पहिचान गरी नेतृत्व विकासको प्रशिक्षणसहित पार्टीमा आवद्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ । एमालेको १०औँ महाधिवेशन २०७८ सालमा भएको थियो । गत असोजसम्ममा सदस्यता साढे पाँच लाख जनाले नवीकरण गरेका छन् । 

महासचिव पोखरेलका अनुसार पार्टीका सदस्यहरूको नवीकरण चैत महिनाभित्र सम्पन्न गर्नुपर्छ । ०८१ वैशाख पहिलो हप्तामा नवीकरण रिर्पोटसहितका जिल्ला कमिटीका बैठकहरू राख्ने, अभिलेखीकरण तथा प्रमाणीकरणका लागि सदस्यहरूको नवीकृत सूची र आर्थिक दायित्व प्रदेश कार्यालयमार्फत् वैशाख १५ गतेभित्र केन्द्रीय संगठन विभागमा पठाइसक्न महासचिव पोखरेलको निर्देशन छ । सदस्यता नवीकरण गर्दा कसैले अन्य सदस्यहरूको एकमुष्ट शुल्क (लेबी) तिरिदिने काम गरे कारबाही गरिने चेतावनी समेत दिइएको छ । 

“सदस्यता नवीकरणका क्रममा कसैले अन्य सदस्यहरूको एकमुष्ट शुल्क (लेबी) तिरिदिने, सदस्यहरूको सूचीमा हेरफेर गर्ने लगायतका अनुचित तरिका अपनाएको पाइएमा त्यो कारबाहीको विषय बन्नेछ,” निर्देशनमा भनिएको छ । त्यस्तै, पार्टी कार्यालय बनाउनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाउने पार्टीको निर्णय पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्