site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेपलाई मन्त्रालयको पत्र– अवैध काम गर्ने एन्फालाई कारबाही गर्नू

काठमाडौं । मैत्रीपूर्ण फुटबलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय फुटबल टिमसँगै अनधिकृतरूपमा १० जना गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ ।

नेपाली टिममा २३ जना खेलाडीबाहेक १६ अतिरिक्त सदस्य छन् । जसमा मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेस, सहायक प्रशिक्षक प्रवेश कटुवालसँगै विनोद डंगोल र मनिष तिम्सिना गोलकिपर प्रशिक्षक छन् । यस्तै, उत्तमराज भण्डारी टिम व्यवस्थापक रहँदा लोकेन्द्र कुँवर फिजियो र ज्ञानबहादुर राई किट व्यवस्थापकमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाहेक, एन्फाले दीपक खतिवडा, महेन्द्र क्षेत्री, इन्द्रमान तुलाधर, भरत घिमेर, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रविण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई पनि टोलीसँगै लगेको छ ।

एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग स्वीकृत नलिई १० जना लगेको जानकारी आएपछि कानुनअनुसार गर्नू भनेर पत्र लेखेको खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले बताए ।

“स्वीकृती नलिई सहभागी लिएर गएको भन्ने कुरा बाहिरियो । यो विषयमा हामीले खेलकुद परिषद्ले सोधेका थियौँ । परिषद्ले हामीसँग स्वीकृति लिएको छैन भन्ने जवाफ आयो । खेलकुद विकास ऐनमा स्वीकृति लिनुपर्छ भन्ने व्यवस्था छ । स्वीकृत नगरी गएको भए कानुनबमोजिम गर्नू भनेर पत्र लेखेका हौँ,” खेलकुद मन्त्रालयका प्रवक्ता रेग्मीले बाह्रखरीसँग भने । 

नेपालले मलेसियासँग शुक्रबार एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम फिफा विश्वकप २०२६ दोस्रो चरणको छनोटका लागि बहराइन जानेछ । बहराइनमा नेपाली टिमले घरेलु टिमसँग दुई खेल खेल्नेछ ।

यसअघि बहराइनसँगको 'होम गेम' दशरथ रंगशालामा हुने तालिका रहे पनि रंगशाला एएफसीको स्तरअनुरूप नभएपछि नेपालले होम र अवे दुवै खेल बहराइनमा खेल्नुपर्ने भएको हो ।

Khel-1710333603.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्