site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विज्ञसँग प्रधानमन्त्रीको छलफल : बजेट प्रणालीमा आमूल परिवर्तन गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हरेक वर्ष पूरानै वर्षको फोटोकपीका रूपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रूपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरूलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो ।

छलफलका क्रममा विषयगत विज्ञहरूले उठाएका विषयहरू महत्त्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रियाअन्तर्गत नै छलफल आयोजना गरेको बताए । 

“सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ” प्रधानमन्त्रीले भने, “यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव केन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।”

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्