site stats
बाह्रखरी :: Baahrakhari
देश
छाला–जुत्ता कारखानाको चार जिल्लामा रहेको जग्गा पनि बिचौलियाको कब्जामा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित पक्राउ परेका कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सन्जय ठाकुरलाई बुधबार छाडेको हो ।

पक्राउ परेका चौधरीसहित तीन जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनीहरू १८ माघमा पक्राउ परेका थिए ।  पक्राउ परेका तीन जनामाथि सीआईबीले थुनामा राखेर अनुसन्धान गर्न पहिलो चोटि जिल्ला अदालत काठमाडांैबाट चार दिनको सयम सीमा पाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चार दिनमा अनुसन्धान नसकिएपछि सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो ।  तर, अदालतले दुई दिन थुनामा राखी अनुसन्धान गर्न र अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

यद्यपि सीआईबीले उनीहरूले हिरासत कक्षमा नराखी तीन जनालाई नै सुविधा सम्पन्न ग्रान्डी अस्पताल राखेको थियो । सीआईबीले भने डाक्टरकै सल्लाहले उनीहरू अस्पाताल भर्ना भएको दाबी गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा थियो । 

चौधरी ग्रुपले सञ्चालन गरेको च्याम्पियन फुटवयेरको नाममा २०४३ भदौ १० मा जग्गा गएको देखिएको सीआईबीका एसएसपी दिनेश आर्चायले जानकारी दिए । त्यसमध्ये १० रोपनी अरुण चौधरीको नाममा नामसारी भएको देखिएको हो ।

१० रोपनी जग्गा नामसारी गर्नेबेला कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापाले सरकारलाई हानि–नोक्सानी हुने गरी चौधरीको कम्पनीमा नामसारी गरेको दाबी गरेको छ ।

हाजिरी जमानीमा छुटेपनि अनुसन्धान जारी रहनेछ । प्रहरीले कीर्ते ठगी मुद्दामा अनुसन्धान गर्न प्रकाउ परेको मितिले २४ दिनको समय अवधि पाउने कानुनी व्यवस्था छ ।

कारखानाको प्रशोधन केन्द्रको जग्गा पनि गायब

सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अरुण चौधरी पक्राउ गरे पनि अन्य ठाउँका सरकारी जग्गाबारे भने अनुसन्धान प्रारम्भ भएको छैन । स्रोतका अनुसार, जुत्ता कारखानाको बाँसबारीका अतिरिक्त चार जिल्लामा रहेका सयौं रोपनी सरकारी जग्गासमेत व्यक्तिको नाममा गैरकानुनी तरिकाले नामसारी भएको दाबी गरेको छ ।

जुत्ता निर्माणका लागि सरकारले बाँसबारीबाहेक मकवानपुरको हेटौंडा, सुनसरीको धरान, बाराको परवानीपुर र सिरहाको लालबन्दीमा सयौं रोपनी जग्गा कारखानाको नाममा थियो । छाला संकलन केन्द्रका जग्गासमेत २०४३ मै निजी कम्पनीहरूको नाममा नामसारी भइसकेको छ । त्यसमध्ये केही जग्गा चौधरी समूहकै कब्जामा रहेको देखिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

तर, सीआईबीले बाँसबारी जुत्ताको चार जिल्लाका कारखानाका जग्गा क–कसको नाममा नामसारी भए भन्नेबारे अनुसन्धान गरिसकेको छैन ।  सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भने बाँसबारीको जग्गाबाहेक अन्य ठाउँको जग्गाबारे पनि सीआईबीले अनुसन्धान गर्ने बताइन् ।

‘‘हामीले बाँसबारीबाट अनुसन्धान थालेका हौँ । अन्य जिल्लाको जग्गा पनि यसरी नै नामसरी भएको केही प्रमाण फेला परेका छन् । हामी अनुसन्धान गर्दैछौं,” एआईजी बज्राचार्यले भनिन् । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्