site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अधिकांश वाणिज्य बैंकको नाफा घट्यो, सुधारको बाटोमा कृषि विकास

काठमाडौं । हाल सञ्चालित २० वाणिज्य बैंकमध्ये अधिकांशको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा २० मध्ये चार वाणिज्य बैंकको नफामा वृद्धि भएको छ । बाँकी १६ वाणिज्य बैंकको नाफामा कमी आएको हो ।

बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको तुलामा ९.९४ प्रतिशतल कम हो । गत वर्षको सोही अवधिमा २० वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यो वर्ष बैंकहरूको खराब कर्जा बढ्दा नाफामा असर देखिएको हो । साथै, सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपीओको प्रिमियम र अक्सनमा सेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने बैंक तथ वित्तीय संस्थाहरूको नाफामा कर लिएपछि नाफा थप प्रभावित भएको मान्न सकिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको मंसिर अन्तिम साता सर्वोच्च अदालतले यस्तो कर तिर्नुपर्ने फैसला गरेपछि बैंक तथा वित्तीय संस्थासहित अरू कम्पनीहरूले झन्डै १४ अर्ब रुपैयाँ बुझाएका थिए । यसैको मारमा अधिकांश वाणिज्य बैंक परेका छन् ।

odmafdgm-1705835048.jpg
कृषि विकास बैंकले भने नाफामा सुधार गरेको छ । यस अवधिमा यो बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म यो बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा थियो ।

यस्तै, नाफा वृद्धि गर्नेमा हिमालयन, प्राइम कमर्सियल र एभरेस्ट बैंक छन् । वित्तीय विवरणानुसार गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । यो बैंकको नाफा ५७ प्रतिशतले वृद्धि भएको छ ।

प्राइम कमर्सियल बैंकको ३२ प्रतिशत र एभरेस्ट बैंकको नाफा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक लिमिटेड छ । यो बैंकको नाफा ४९ प्रतिशतभन्दा बढीले घटेको छ ।

एनआईसी एशिया बैंकको करिब ४२ प्रतिशतले नाफामा कमी आएको छ ।

पुस मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । यो बैंकले तीन अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले दुई अर्ब चार करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्