site stats
बाह्रखरी :: Baahrakhari
देश
बालाजुमा वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ । बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने यो प्रणाली हो ।

कामपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । गएको वैशाखमा यसको निर्माण कार्य सुरु गरिएको थियो । उक्त प्रणालीको लागत ४३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

“सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ, हिउँदमा पानीको अभाव हुन्छ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवद्र्धन गरिरहेका छौँ,” उपप्रमुख डंगोलले भनिन्, “काठमाडौंमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।”

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासको समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । पहिले काठमाडौंवासीले पानीको प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गर्थ्यो ।

पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय वर्षा छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

यस्तो अवस्थामा पानीको अभाव कम गराउन व्यक्ति–व्यक्तिको तहमा पुनःभरणका विषयमा चिन्तन आवश्यक देखिएको उनले बताइन् । रासस

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्