site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन : दुई उमेदवारविरुद्ध उजुरी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उमेदवारी दिएका दुई उमेदवारविरुद्ध उजुरी परेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उमेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । उमेदवारीउपर आज दाबीविरोध र उजुरी, पुस २५ र २६ गते जाँचबुझ गरी उमेदवारीको नामावली प्रकाशन तथा पुस २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता कार्यक्रम थियो ।

निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्ने छ । निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष कार्यकाल सकिन्छ । रासस
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्