site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारी ठगी प्रकरणमा अधिकृतदेखि जनप्रतिनिधिसम्म पुर्पक्षका लागि थुनामा

पोखरा । बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा जिल्ला अदालत कास्कीले एकैदिन दुईवटा सहकारीमा मुछिएका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

पोखराकै मित्रमिलन सहकारीले करोडौँ रकम अपचलन गरेको अरोप छ । सूर्यदर्शन सहकारीले त अर्बौं रकम हिनामिना गरेको बतान्छ । थुप्रै व्यक्ति फरार छन् ।

मंगलबार जिल्ला अदालतले पक्राउ परेकाहरूको बयानपछि थुनामा पठाउन आदेश दिएको हो । अदालतले थुनामा पठाएका व्यक्तिहरूमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । उनी गत बुधबार कार्यरत कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ परेका थिए । प्रमुख प्रशासकीय अधिकृतमा बहालवाल रहेकै अवस्थामा पर्वत प्रहरीले नियन्त्रणमा लिई कास्की प्रहरीलाई सुम्पिएको थियो ।

पराजुलीले सहकारी रजिस्ट्रार हुँदा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।

पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन् । दुईपटकमा गरी उनले केही रकम फिर्ता पनि गरेको उनको भनाइ छ ।

तर, काम नभएपछि थुनामा रहेका सञ्चालकले पराजुलीको पोल खुलाएका थिए । सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड बिगो दाबीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो । ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ६ जनामात्र पक्राउ परेका छन् । 

पूर्वरजिस्ट्रार पराजुलीसँगै मंगलबार कर्मचारी गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल पुर्पक्षका लागि जेल पठाइए । सहकारीका अध्यक्ष एवं सञ्चालक ३२ वर्षीय रमन पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघिदेखि नै कारागारमा छन् । सहकारीका तीनहजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए । 

सहकारीका बचतकर्ताको ठगीमा देशैभर बद्नामी कमाएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अर्का एक अभियुक्त अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका शिवबहादुर गुरुङ भनिने महेन्द्र भोटे कानुन व्यवसायीसहित जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । उनको बयान नसकिएका कारण उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

कास्की प्रहरीले रेड कर्नर नोटिस जारी गर्नका लागि प्रहरीको केन्द्रीय कार्यालय गुहारेको बेला आफैँ अदालतमा उपस्थित भएका भोटे र अर्का आरोपित भविश्वर अर्याललाई बयान नसकिएका कारण न्यायाधीश वसन्तजंग थापाको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

महेन्द्र कास्कीको मादी गाउँपालिका वडा नम्बर १० घर भई हाल पोखरा–१२ लालीगुराँस टोल निवासी हुन् । भविश्वर गल्याङ–९ स्याङ्जाका बासिन्दा हुन् । महेन्द्र अघिल्लो वर्षको स्थानीय चुनावमा एमालेको तर्फबाट मादी गाउँपालिकाको अध्यक्षका प्रत्यासीसमेत रहेका थिए । 

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले मंगलबार बयान लिने काम मात्रै भएको जानकारी दिए । उनका अनुसार आदेश नआउन्जेल उनलाई प्रहरी हिरासतमा राखिने छ । 

“आज बयान मात्रै भयो । थुनछेक बहस भोलि (बुधबार) हुनेछ । आज दुईजना उपस्थिति भएका थिए । हाल उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ,” अधिकारीले भने । 

यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । यही हप्ता काठमाण्डौबाट पक्राउ परेका रम्तेल रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षसमेत भएको खुलेको छ । उनी माओवादीबाट निर्वाचित भएका थिए ।

गीतेन्द्र बाबु (जीवी) राईको समुहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरूको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको बताइन्छ । सूर्यदर्शन सहकारीको १० करोड भन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको खुलासा भएको थियो । 

सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

यो सहकारीले एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्