site stats
बाह्रखरी :: Baahrakhari
देश
सहायता कक्षमा ‘दोभासे’ राख्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राखिने भएको छ ।

बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुन नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको जनाएको छ । “नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो ।

कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि उपलब्ध गराइने संयोजक केसीले जानकारी दिए ।

यस्तै, कामपाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत कक्षा–१ देखि ८ सम्म व्यावहारिक÷प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघ–संस्थालाई  विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

इच्छा भएका संघ–संस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन आग्रह गरिएको कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।  प्रमुख कोइरालाले भने, “विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यसहित विद्यालयमा तालिमप्रदायक संघ–संस्थालाई सूचीकृत हुन आग्रह गरिएको हो ।”

कामपाले आफ्नो क्षेत्रमा सञ्चालितमध्येका ८१ सामुदायिक विद्यालयमा गएको वैशाख १२ गतेदेखि पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । किताबमा भएका भन्दा फरक र व्यावहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

चालु आर्थिक वर्षमा शिक्षाका निम्ति जम्मा एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रुपैयाँ रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमका निम्ति छुट्टै बजेटको व्यवस्था गरेको छ । कामपाको मागानुसार सूचीकृत हुने संघ–संस्थाले चालु आवको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घण्टाको कक्षा हुनेछ । रासस

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्