site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा, ९३ करोड आजै जिल्लामा पठाइयो

काठमाडौं । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये आज ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “हिजोमात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ ।”

उनले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिए । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए । 

उनका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु एक अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २३:१४
प्रतिक्रिया दिनुहोस्