site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको संकल्प यात्रा : सयौँ नेताको लर्को, ओलीको एकल प्रस्तुति 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रा उत्तरार्धमा पुग्न लागेको छ । अभियानको बुधबार १४औं दिन हो । मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गरिएको थियो । 

मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान यतिखेर कोसी प्रदेशमा छ ।  करिब दुई हजार किलोमिटरको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने तयारी छ ।  पुुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको समीक्षा प्रस्तुत गर्ने तयारी गरिएको नेताहरू बताउँछन् । 

ओलीको एकल ‘शो’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेको अभियान अध्यक्ष केपी शर्मा ओलीको ‘एकल शो’ जस्तो बनेको छ ।   संकल्प यात्रामा पार्टीका पदाधिकारी र अन्य कमिटीका गरी १५० बढी केन्द्रीय नेताको लर्को छ । अभियानको केन्द्रबिन्दुमा पार्टी अध्यक्ष ओली नै देखिन्छन् । 

सभामा पार्टीका अध्यक्ष ओली मात्रै प्रस्तुत भएका छन् ।  अधिकांश सभामा ओलीले एकल रुपमा प्रस्तुति दिएका छन् । पहिलेका पार्टीका काममा सीमित नेताहरुलाई सीमित ठाउँको जिम्मेवारी दिइएको भन्दै पार्टीका पदाधिकारी एक साथ अभियानमा छन् ।  

धेरै नेताहरुले बोल्दा धेरै कुरा बाझिन सक्ने भएकाले ओलीको एकल प्रस्तुति गराइएको एक नेता बताउँछन् । 

“केन्द्रीकृत जस्तो होस्, धेरै ठाउँमा धेरै नेताहरुले बोल्दा दुई अर्थ नलागोस् भनेर जिम्मेवार हिसाबले पार्टी अध्यक्षलाई प्रस्तुत गराइएको हो,” ती नेता भन्छन्, “अध्यक्षको एकल प्रस्तुति हो । जनतासँग पनि र आमसभामा पनि एकल वक्ताका रुपमा प्रस्तुत गरिएको हो ।”

एमालेले कार्यक्रमको समय तालिका त बनाएको थियो ।  तर, अध्यक्ष ओलीलाई भेट्न र स्वागतका लागि बसेका जनताका कारण अधिकांश ठाउँमा निर्धारित समयमा सभा हुन सकेन ।  सबै पदाधिकारीहरु अध्यक्ष ओलीसँगै अल्मलिँदा कार्यक्रममा आएकाहरुलाई घण्टौं कुर्नुपरेको नेताहरु बताउँछन् । 

मंसिर २३ गते नुवाकोटको सल्यानटारमा दिउँसै सभा भनिए पनि सभा राति ९ः३० पछि मात्रै सुरू भएको थियो । त्यस्तै केही अन्य ठाउँमा पनि तोकिएअनुसार कार्यक्रम हुन सकेन । पोलिट्ब्यूरो सदस्य कृष्ण राई निर्धारित समयभन्दा ४–५ घण्टा ढिलो गरी सभा भएको बताउँछन् । 

larko-1702470484.jpg

“हामी सेड्युल बनाएर त हिँड्यौं । तर, बिहानको कार्यक्रमबाहेक अध्यक्ष ओलीलाई भेट्न बाटोमा जनताको लामले गर्दा नि निर्धारित समयभन्दा ४–५घण्टासम्म ढिला भयो,” उनी भन्छन् ।  पार्टीका अध्यक्ष प्रमुख वक्ता हुनु स्वाभाविक हो । “कार्यक्रममा उपस्थिति बाक्लो छ । माला लगाउने ठाउँ छैन । अध्यक्षको भव्य स्वागत भइरहेको छ,” पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई भन्छन् । 
अध्यक्ष ओलीले मात्रै सभामा बोल्ने र अरु पदाधिकारी मुकदर्शक बन्नुपरेकाले असन्तुष्टि पनि देखिएको छ । 

व्यवस्थापनमा कमजोरी भएको भन्दै नेताहरुले सुुर्धान सुझाएका छन् ।  “पूरै नेतृत्व केपी ओलीलाई ‘ब्रान्डिङ’ गराउन मात्रै हिँडिरहनुपर्ने भन्ने प्रश्न उठेको छ,” एक नेता सुनाउँछन्, “अरु नेतालाई पनि बोल्न दिने गरी कार्यक्रम बनाएको भए हुने यो त बा ब्रान्डिङ गराउने काम भयो ।”

पोलिट्ब्यूरो सदस्य अरुण नेपाल अध्यक्षको प्रतिक्षामा लामो समय कुराउनुभन्दा अरु नेताहरुले छिट्टै आएर बोल्दा राम्रो हुने बताउँछन् ।  “सबै नेताहरुसँगै हिँड्ने र अध्यक्ष मात्रै बोल्ने भन्ने कुराले घण्टौँसम्म अल्मल्याउनुपर्ने अवस्था आयो,” उनी भन्छन्, “कोही नेता छिट्टै आएर बोलेको भए त राम्रो हुन्थ्यो । यी विषयमा आगामी बैठकमा छलफल हुन्छ ।”

पोलिट्ब्यूरो सदस्य राई पनि सभामा अध्यक्षलाई मात्रै कुर्दा छोटो समयमा जनताको समस्या सम्बोधन हुन नसकेको बताउँछन् । 

“अध्यक्षको प्रतीक्षामा सभामा उपस्थितहरुलाई ५–६ घण्टा अल्मल्याउनुको सट्टा अरु कोही पदाधिकारीहरु अगाडि पुगेर राजनीतिक सन्दर्भ प्रस्तुत गर्दा राम्रो हुन्थ्यो,” राई भन्छन्, “अध्यक्षले नै सबै कुरा खोतल्नुपर्ने, समय छोटो भएकाले जनताले अपेक्षा गरेका सबै कुरा नआउने चाहिँ हँुदैनथ्यो । अर्को कार्यक्रबाट सुर्धानुपर्छ भनेर हामीले नेताहरुलाई पनि भनेका छौं ।”

समय हुँदा हुँदै पनि अरु नेतालाई बोल्न नदिएकोप्रति एमालेमा असन्तुष्टि देखिएको छ ।
 

सामाजिक सञ्जालमा पनि ओली 

अध्यक्ष ओली सामाजिक सञ्जालमा निकै  सक्रिय छन् ।  उनी आफैँ सामाजिक सञ्जालमा विभिन्न सामग्री पोस्ट गरिरहेका हुन्छन् ।  संकल्प यात्राका विभिन्न खुराका ओलीले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । भेटघाट, कार्यक्रमका तस्बिर शेयर गरिरेका छन् । 

त्यसो त, ओलीको सचिवालयले बालकोट र नामक फेसबुक पेज चलाउने गरेको छ ।  त्यसमार्फत् पनि ओलीका हरेक कार्यक्रमका तस्बिर शेयर गरिएको हुन्छ ।  ओलीले सामाजिक सञ्जालमार्फत् नै नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्रीसँग फोन सम्पर्क भएको जानकारीसमेत गराएका थिए । 

olimala-1702470485.jpg

ओलीको सक्रियता अरु नेताको तुलनामा अगाडि देखिन्छ । अभियानका क्रममा पनि अरू नेताहरू सामाजिक सञ्जालमा समेत छायामा परेको चर्चा समेत भएको छ ।  ओलीले गएको मंसिर २५ गते कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका थिए । यात्राका क्रममा डडेलधुरा पुगेका ओलीले देउवालाई सम्झिएका थिए ।

फोनमा भएको कुराकानीको छोटो भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । कांग्रेसका सभापति देउवालाई सम्झिएका ओलीले पार्टीका नेता भीम रावललाई अभियानमा बेवास्ता गरेको भन्दै ओलीको आलोचना पनि भयो । पार्टी अभियानमा होमिँदै रावलले निम्तै पाएनन् । 

अभियानकै क्रममा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्झिए । मंगलबार प्रधानमन्त्रीको जन्मदिन परेको थियो ।  सोही अवसरमा ओलीले प्रचण्डलाई शुभकामना दिन फोन गरेको जानकारी सामाजिक सञ्जालमार्फत् नै गराएका छन् । 

राधिका सँगसँगै

एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्य अधिकांश कार्यक्रममा देखिन्न थिइन् ।  यो यात्रमा भने उनी सँगसँगै छिन् । एमालेको कुनै पदमा छैनन् । तर, अध्यक्ष ओली पत्नी भएका कारण नै उनलाई ओलीपछिको वरितायतामा राखेर मञ्चमा आसन ग्रहण गराइएको छ । 

एमालेको वरीयताअनुसार ओलीपछिको वरीयतामा वरिष्ठ नेता ईश्वर पोखरेल हुन् । शाक्यलाई उनीभन्दा अघि आसन ग्रहण गराउनुलाई अन्यथा मान्नुनपर्ने नेताहरु बताउँछन् ।  

जनताका प्रश्न : सरकारमा हुँदा त नगरेको अहिले के गर्नुहुन्छ ? 
एमालेले मध्यपहाडी क्षेत्रका जनताको समस्या सुन्दै हिँडेको छ । नेताहरुले समस्या टिपोट पनि गरेका छन् ।  केही प्रश्नका जवाफ पनि नेताहरुले दिएका छन् । जनताका आकांक्षा, चाहना, एमालेप्रतिको भवना पनि नेताहरुले आफैं प्रश्न गरेर पनि बुझिरहेका छन् । 

“हामीले हाम्रा कुरा मात्रै राखेका छैनौं । जनताका कुरा पनि सुनिरहेका छौ,” पोलिट्ब्यूरो सदस्य नेपालले भने ।  संकल्प यात्रमा हिँडिरहेका एक नेताका अनुसार, जनताले प्रतिपक्षीमा हुँदा हाम्रा समस्या कसरी समाधान गर्छ भन्ने प्रश्न गरेका छन् । 

“हाम्रा माग धेरै छन् । एमालेले कसरी पूरा गर्छ त ? तपाईंहरु सरकारमा रहँदा त गर्नुभएन,” जनताका प्रश्न सुनाउँदै ती नेता भन्छन्, “सत्तामा नहुँदा कसरी गर्नुहुन्छ ? भन्ने प्रश्न सिँधै आएका छन् ।”

पोलिट्ब्यूरो सदस्य राईका अनुसार, त्यस्ता प्रश्नहरुको संसदीय व्यवस्थामा प्रतिपक्षीका रुपमा ती प्रश्न उठाउने र स्थानीय तहमा सतापक्षमा रहेका ठाउँमा काम गर्ने भनी जवाफ दिइएको बताउँछन् । 

अबको निर्वाचनमा एमालेलाई एकल बहुमत दिए समस्याको समाधान एमालेले गर्ने जवाफ नेताहरुको छ । 

आशा छरेको कि निराशाका पोका बाँडेको ?

एमालेले मध्यपहाडी क्षेत्रका जनतामाझ आशा जगाउने उद्देश्य राखेको छ ।  मध्यपहाडको बसाईंसराईं रोक्न भूमिका खेल्न अभियान गरेको नेताहरु बताउँछन् ।  तर, आशा जगाउने भनेको एमालेले निराशाको पोका त बाँडिरहेको त छैन भन्ने प्रश्न उब्जिएको छ । 

अध्यक्ष ओलीले भाषणका क्रममा सरकारले कर्मचारीको तलब दिन ऋण लिनुपरेको, अर्थतन्त्र झन् खस्किएको, विकास नभएको, सरकारले केही नगरेको लगायतका एउटै विषय उठाएका छन् । उनको अधिकांश भाषणमा त्यही सुनिन्छ ।

हुन त, प्रतिपक्षीका नाताले सकाकारले काम गरेन भन्नु स्वाभाविक हो ।  तर, सबै निराशा देखाएर जनताले के बुझ्ने भन्ने प्रश्न उठेको छ ।  पोलिट्ब्यूरो सदस्य नेपाल अध्यक्षले निराशा बाढेको नभएर गठबन्धनको सरकारले केही नसकेको र एमालेको बहुमतको चाहिएको धारणा राखेको बताउँछन् । 

maruni-1702470601.jpg

“सरकार विवादमा परेको छ । यसले दिशा लिन सकेन । गठबन्धनले राष्ट्रलाई केही दिएन । हरेक दिन नयाँ काण्ड आएको छ । देशभक्ति  र राष्ट्रलाई समात्न सकेन । विकास निर्माणको योजना पनि भए । सरकार असफल भएको छ । एमालेको भरोसा गर्नुस् । यसको समाधान एमालेले गर्छ भन्ने अध्यक्षको कुरा हो,” उनी भन्छन् । 

त्यस्तै, पोलिट्ब्यूरो सदस्य राई पनि एमालेको बहुमत आएपछि समस्या समाधान हुने धारणा अध्यक्षले राखिरहेको बताउँछन् ।  अभियानका क्रममा व्यवस्थापकीय कमजोरीका कारण पनि समस्या भएको बताउँछन् । 

जुन क्षेत्रमा गयो त्यही क्षेत्रका समस्याको जवाफ दिने गरी कार्यक्रम गरिएको भए बाहिर पनि राम्रो सन्देश जाने उनको भनाइ छ ।

कोसी पुगेपछि फेरिएको बोली 

कोसी प्रदेशमा नामकारण विवाद कायम छ ।  हिक्मत कार्की नेतृत्वको एमाले सरकारका बेला प्रदेश–१ को नाम कोसी रहने गरी संसद्ले पारित गरेको थियो ।  नेपाली, कांग्रेस, माओवादीलगायतको नामाकरणको पक्षमा मतदान गरेका थिए ।

नामकरणका विषयमा पहिचानवादीहरुले एमालेका नेता चढेका गाडीमा आक्रमण गर्दै आएका छन् ।  एमालेले यात्रा सुरु गरेपछि पहिचावादीहरुले निषेधको चेतावनी दिएका थिए ।

यात्राको सुरुवातदेखि नै पहिचानवादीहरुमाथि अध्यक्ष ओली खनिए ।  उनले पहिचानवादीमाथि आक्रामक भाषण गरेका थिए ।  त्यो भाषणका कारण पहिचनावादीहरू पनि आक्रोशित देखिएका थिए ।  मंसिर २१ गते पर्वतमा भएको सभाबाट ओलीले पहिचानवादीहरुलाई विदेशबाट सञ्चालित भएको आरोप लगाएका थिए । 

उनले ‘एमालेलाई कोसीमा प्रवेश गर्न नदिने भन्नेहरू को हुन् ?’ भन्दै  नेपालको भूभागको कसैको बिर्ता नभएको पनि बताएका थिए ।

“एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश–१ मा प्रवेश गर्न दिन्नौँ भनिरहेका छन् । किन नदिने ? नदिने फेरि को हुन् उनीहरू ? एमाले कहाँ जान पाउने, कहाँ जान नपाउने ? एमाले त त्यही प्रदेश–१ मा छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको,” ओलीको भनाइ थियो । 

संकल्पयात्रा कोसीमा प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई पछि हट्न उनले चेतावनी दिएका थिए ।

“फूर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । यो बुद्धि छोडिहाल । होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्नेछ । कत्रा–कत्राको क्रान्तिका नाउँमा, जनयुद्धका नाउमा फाइँफुर्ती त समाप्त भयो भने चारवटा केटा उफ्रिएका छन्,” ओलीले कार्यक्रममा भनेका थिए ।

कोसी पुग्नुअघि पहिचानवादीमाथि खनिएका ओलीको बोली फेरिएको छ ।   उनी पहिचानवादीहरुसँग मत्थर देखिएका छन् ।   मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभामा उनले ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढावा दिएको आरोप लगाए । 

“गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको । त्यसकारण साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,” उनले भने ।

ओलीले पहिचानवादी पक्षधरको आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने बताए ।  ओलीले राजनीतिक रूपमा मतभेद भए कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

“राजनीतिक मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । कानुनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन,” कार्यक्रममा ओलीले भने, “सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्दछ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्दछ ।”

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्