site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं प्रशासनले भन्यो– बिना हातहतियार शान्तिपूर्वक भेला हुनू, अन्यथा कारबाही हुन्छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं मंसिर ७ गतेको प्रदर्शनमा संयमता अपनाउन आग्रह गरेको छ । मंगलबार राति एक विज्ञप्तिमार्फत प्रशासनले सम्भावित मुठभेडलाई मध्यनजर गरेर दुर्गा प्रसाईं र युवा संघको कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिएको पनि स्मरण गराएको छ । 

विरोध कार्यक्रमका लागि युवा संघका लागि काठमाडौंको तीनकुनेमा र दुर्गा प्रसाईंको कार्यक्रमका लागि बल्खुमा स्थान तोकिएको छ । प्रशासनले दुवै पक्षलाई सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमस्थल जाने मार्गसमेत फरकफरक हुने गरी शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको रक्षा गर्न स्थानीय प्रशासन प्रतिबद्ध छ । आफ्नो अधिकारको उपभोग गर्दा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, गाली बेइज्जती वा अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी एवम् क्षति पुऱ्याउने वा सार्वजनिक मर्यादा, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न नगराउन समेत सबैमा अनुरोध छ," प्रशासनले भनेको छ ।

कसैबाट संविधान र प्रचलित कानुनले निषेध गरेका गतिविधिहरू प्रत्यक्ष वा परोक्षरूपमा वा सामाजिक सञ्जालमार्फत वा अन्य कुनै माध्यमद्वारा गरे गराए वा गर्न उक्साएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्