site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अन्नपूर्ण आधारशिविर घुमेपछि गुटेरेसले भने– प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक छ
अन्नपूर्ण आधारशिविरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर सौजन्य : दिलीप गुरुङ/रासस ।

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिविरुद्धको युद्ध रोक्न विश्व समुदायसँग अपिल गरेका छन् ।

मंगलबार बिहान अन्नपूर्ण हिमालको आधारशिविरमा पुगेर जलवायु परिवर्तनले पारेको असर प्रत्यक्ष देखे र स्थानीयको मुखबाट सुनेपछि उनले यस्तो अपिल गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो विश्वका आश्चर्यहरूमध्ये एक हो । तर, जलवायु परिवर्तनका कारण खतरामा परेको आश्चर्य हो,” महासचिव गुटेरेसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, “मेरो भ्रमणको उद्देश्य संसारलाई एक स्पष्ट सन्देश दिनका लागि थियो, त्यो हो– प्रकृतिविरुद्ध यो युद्ध रोक्न आवश्यक छ ।”

नेपालका अद्भुत हिमाल र हिमनदीहरूलाई जोगाउनुपर्नेमा उनले जोड दिए । उनले अगाडि भने, “नेपाल र नेपालजस्तै अन्य देश जसको जलवायु परिवर्तनमा कुनै योगदान छैन, तर जलवायु परिवर्तनको असर भोग्नुपरेको छ, उनीहरूलाई सहयोग गर्न आवश्यक छ ।”

जलवायु परिवर्तनका कारण धेरै भूभाग प्रभावित भएको उनले उल्लेख गरे । धेरै ठाउँमा पहिरो जाँदा समुदायमा नराम्रो असर गरेको उनले बताए ।

“त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई मेरो अपिल छ– प्रभावकारी ऐक्यबद्धताको लागि बढीभन्दा बढी कोषको व्यवस्था गरियोस्,” उनले भने ।

महासचिव गुटेरेसले सोमबार सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । त्यहाँ पनि उनले जलवायु परिवर्तनले पारेका असरका बारेमा जानकारी लिएका थिए । नेपाललाई सघाउन विश्व समुदायलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्