
काठमाडौं । नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ ।
बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ ।
बिहान ८ः३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउनेछ । अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुनः नक्साल आउनेछ ।
आज सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक सवारी साधन दसैँको समयमा नचल्दा काठमाडौं उपत्यकामा दसैँमा सर्वसाधारणले हैरानी बेहोर्नु पर्दै आएको छ ।