site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा ‘ओलीलाई, ओली बनाएका पाखा, सेल्फी खिच्ने काखमा !’

काठमाडौं । एमालेका नेताहरुमा अध्यक्ष केपी शर्मा ओली नजिक बन्ने होडबाजी छ । सात प्रदेशको अधिवेशन सकिँदै गर्दा नेतृत्वका लागि ओली पक्षका नेताहरुबीच नै रस्साकस्सी देखियो ।

ओलीलाई लामो समयदेखि साथ दिएका नेताहरु पाखा पारिएको र पछि आएकाहरुलाई च्यापिनुको परिणाम अधिवेशनमा देखिएको एमालेको एक नेता सुनाउँछन् ।

“जो हिजोखदेखि केपी ओलीको पक्षमा उभियौं । हामीलाई बाइपास गर्ने किनारमा पार्ने काम भइरहेको छ,’’ ती नेता भन्छन्, ‘‘अरु नयाँ मान्छे हामी हौंं भन्दै प्रचारबाजी गर्ने, बालकोट जाने, फोटो खिच्ने फेसबुकमा हाल्नेहरु हाबी भएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्ता दृश्यबाट तल रहेर पार्टीका लागि निरन्तर काम गर्ने पुराना नेता–कार्यकर्ता ‘इरिटेड’ बोध गर्दैछन् ।  ‘‘हामीले यो अधिवेशनमार्फत् त्यही कुरा चिर्न खोज्यौं,’’ ती नेताले भने, ‘‘कति नेताहरु सफल हुनुभयो । कतिले त्यो कुरा चिर्न सक्नु भएन ।”

प्रदेश अधिवेशनमा अध्यक्ष ओलीका उमेदवारविरुद्ध उत्रिएका ती नेता आगामी अधिवेशनबाट नेतृत्वको निकट आफूहरु रहेको पुष्टि गर्दै जाने बताउँछन् । लामो समयदेखि पार्टी नेतृत्व र सिद्धान्त भनेर हिँडेका नेताहरुलाई ‘बीचमा आएका’ ले आफू ओली नजिक भएको ‘भाष्य’ सिर्जना भएपछि गुनासो गर्नेहरु एमालेमा बढ्दै गएका छन् ।

‘‘बाहिर अध्यक्षले गरेको निर्णयमा ‘कुरा काट्ने’ तर भेट्दा सही यो हो भन्न नसक्नेहरु मौलाए” ती नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “नेतृत्वको रक्षा सही कुरा गरेर हुने हो । आगामी अधिवेशनमा अध्यक्षको नजिकका हामी हौं भन्ने देखाउँछौं ।”

पार्टी नेतृत्वले प्रदेशको नेतृत्वका लागि केन्द्रका आइसकेका नेतालाई ‘टिप्न खोज्दा’ पनि नतिजा अर्कैै आएको अर्का नेताको भनाइ छ ।

“प्रदेशको नेतृत्व गर्न त्यहीँका नेताहरुलाई दिँदा समस्या आउँदैनथ्यो । तर, नेतृत्वबाट नै नेता टिप्ने काम भयो,” ती नेता भन्छन्, “त्यही कुराको प्रतिवाद गर्दा नेताहरुले नै गुट बनाए भनेर चर्चा भयो । नेतृत्वले साथ दिएका नेतालाई बिर्सदा परिणाम पनि आयो ।”

प्रदेश रस्साकस्सी बिट मार्दै

एमालेको पहिलो प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व नेतृत्व चयन भएको छ ।  गएको भदौमा लुम्बिनीबाट सुरु भएको रस्सासस्सी मधेसमा नेतृत्व सर्वसम्मत् गर्दैै बिट मार्ने चरणमा छ । एमाले नेतृत्वले सर्वसम्मत्बाट नेतृत्व चयन गर्न निर्देशित गरेको थियो । 

पाँच प्रदेशमा चुनाव नै भयो । उपत्यका विशेष कमिटी र दुई प्रदेश कमिटीले भने पदाधिकारी सर्वसम्मत् चयन गर्यो । 

परिणाम कसका पक्षमा ? 

पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा भयो । जहाँ नेतृत्वको चाहनाअनुरुप पदाधिकारी चयन हुन सकेन । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्युठानका हरि रिजाललाई सर्वसम्मत् गर्न चाहेका थिए ।

तर, पार्टीका उपाध्यक्ष विष्णु पौडेलको साथ पाएका पाल्पाका राधाकृष्ण कँडेलले दुई मतले चुनाव जिते । लुम्बिनीपछि वाग्मतीमा अधिवेशन भयो । अधिवेशनमा नेतृत्वले चाहेका व्यक्ति नै अध्यक्ष बने । तर, चुनाव रोक्न नेतृत्व सफल भए । 

नेतृत्वले अध्यक्षमा केन्द्रीय सदस्य कैलाश ढुंगेललाई अघि सारेको थियो ।  केन्द्रीय सदस्य कृष्ण दाहालले चुनौती दिएका थिए । तर, दाहालले पार्टीमा विधि बसाल्न भन्दै अड्डी लिएपछि निर्वाचन भएको थियो ।

कुनै हालतमा सहमति बन्न नसकेपछि नेतृत्व छान्न चुनाव भए । कर्णाली अधिवेशनबाट पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह अध्यक्षमा निर्वाचित भए । 

मीनबहादुर शाहीलाई सर्वसम्मत् बनाउने नेतृत्वको चाहनामा ‘ब्रेक’ लाग्यो । पार्टी नेतृत्वले चाहेका व्यक्तिले चुनाव हारे ।  त्यस्तै, कोसी प्रदेशमा पनि नेतृत्व चयनका लागि निर्वाचन नै भयो ।  पार्टी नेतृत्वले साथ दिएका घनश्याम खतिवडा अध्यक्ष बने । 

पहिले ओलीका निकट रहेका केन्द्रीय सदस्य विनोद ढकालले चुनाव हारे ।  उता गण्डकीमा अधिवेशन पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीचकै प्रतिष्ठाको लडाईं बन्यो ।

पार्टी महासचिव शंकर पोखरेलेकोसमेत साथ पाएका केन्द्रीय सदस्य मायानाथ शर्मा पराजित भए ।  पार्टी उपमहासचिव गुरुङले साथ दिएका नवराज शर्मा अध्यक्ष बने ।  अर्थात् निर्वाचन भएका प्रदेशमा पार्टी नेतृत्व वाग्मती र कोसीमा सफल बनेको नेताहरु बताउँछन् । 

लुम्बिनी, कर्णाली र गण्डकीमा पहिले अध्यक्ष ओली निकट रहेकाहरुले जितेका छन् । चुनाव हुँदा विभाजित भए पनि पार्टीभित्रकै कुरा भएकाले ‘अन्यथा’ लिन नहुने एमालेकै एक नेताको भनाइ छ । 

“पार्टीको आन्तरिक कुरा हो । प्रतिनिधिहरुको अभिमतबाट टुंगो लाग्दा अन्यथा मान्नुपर्दैन,” उनी भन्छन्, “केही समय क्रिया–प्रतिक्रिया हुनु स्वभाविक हो । पक्षधरताको स्थिति बनेको छ । तर, अभिमतको कदर गर्दै अघि बढ्नुपर्छ ।”

जे भए पनि एमालेमा लोकतान्त्रिक अभ्यास भएको छ ।

ट्रेन्ड नै बदलियो !

एमालेको उपत्यका विशेष अधिवेशनपछि ‘ट्रेन्ड’ नै बदलिए जस्तो देखियो । 

उपत्यका विशेष कमिटी प्रेमकुमार पराजुलीको नेतृत्वमा सर्वसम्मत् बन्यो । त्यसपछि भएका सुदूरपश्चिम र मधेशले पदाधिकारी सर्वसम्मत् बनेको छ । 

पार्टीमा निर्वाचन हुँदा एकोहोरो विरोध भएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मत् नेतृत्व छान्न सार्वजनिक रुपमै निर्देशन दिएका थिए ।  सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य कर्ण थापा पक्षीय कृष्णप्रसाद जैसी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, मधेश प्रदेशमा नेता लीलानाथ श्रेष्ठ निकट चन्देश्वर श्रेष्ठ अध्यक्ष बने । 

पदाधिकारी सर्वसम्मत चयन भयो । उपत्यका विशेष, सुदूरपश्चिम र मधेशमा केही सदस्य पदमा भने निर्वाचन भयो । 

“अरु अधिवेशनमा निर्वाचन भयो । निर्वाचन हुँदा गुटबन्दी भएकाले सर्वसम्मत् गराउन नेताहरुको दबाब थियो,” एक नेता सुनाउँछन्, “पार्टीको स्प्रिट सर्वसम्मत गराउने भन्ने थियो । सुदूरपश्चिम र मधेशमा केन्द्र, पोलिट्ब्यूरोका नेताहरु उमेदवार नभएकाले पनि सहमति गर्र्न सम्भव भयो ।”

स्थानीय गुटहरुको भागबण्डा मिलाउँदा पनि सहमति भएको नेताहरु बताउँछन् ।  सुदूरपश्चिममा पूर्वराष्ट्रपति विद्या भण्डारी पक्ष हावी भएको एक नेताको दाबी छ । पार्टी अध्यक्ष निकट रहेका कर्ण थापा पछिल्लो समय कित्ता परिवर्तन गरेको चर्चा छ ।

पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष बन्नुपर्ने अभिव्यक्ति दिएपछि उनले कित्ता परिवर्तन गरेको र सोही पक्ष हावी भएको एक नेता सुनाउँछन् ।   थापा भने पार्टीको निर्णय र नेतृत्वको चाहना अनुसार नै सर्वसहमति गरिएको बताउँछन् । 

“पार्टीको निर्णय, पार्टीको नेतृत्व, सुदूर पश्चिमको आवश्यकता र मिसन ०८४ लाई ध्यान दिएर पार्टीलाई एकताबद्ध बनाउनका निमित्त सहमति गरिएको हो,” उनी भन्छन् । 

थापा निकट एक नेता भने पार्टी नेतृत्वले चाहेजस्तो सर्वसम्मत् गरेर उनले आफू अध्यक्ष ओलीकै निकट रहेको पुष्टि गरेको दाबी गर्छन् । प्रतिनिधिहरुको भावनाअनुसार सहमतिको निस्कर्षमा पुग्न सकिएको पार्टी सचिव तथा सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्मा बताउँछन् ।

उनी अधिवेशनमा अध्यक्षमण्डलको अध्यक्ष थिए । 

“विशेषगरी अधिवेशनका प्रतिनिधिहरुको भावना अधिवेशनबाट नेतृत्व सर्वसम्मत् गर्न पाए हुन्थ्यो भन्ने थियो । भावना भएका हुनाले आकांक्षीहरुसँग विमर्श भयो । र यो निस्कर्षमा पुग्न सकियो,” उनी भन्छन् ।

यसले सकारात्मक र एकताको सन्देश दिएको भन्दै आन्तरिक एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताउँछन् ।

उनी भन्छन्, “जुन प्रक्रियाबाट निर्माण भए पनि आन्तरिक एकतालाई मजबुत बनाएर चुनौती सामना गर्नेगरी एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नु यतिखेरको आवश्यकता हो । यसमा सबै लाग्नुपर्छ ।”

मधेश प्रदेशमा पनि पार्टीलाई एकताबद्ध बनाउन सर्वसम्मत् गरिएको नेताहरु बताउँछन् ।  पार्टीका सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सर्वसम्मत् गराउन कसरत गरेका थिए ।  पार्टीलाई एकताबद्ध बनाउन सहमतिबाट नेतृत्व चयनको प्रयास भएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्