site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेताहरूलाई शिवाकोटीको प्रश्न– विमानस्थलको भिड देख्दा देश त बनाएकै रहेछौँ नि भन्ने लाग्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्यपूर्वका खाडी राष्ट्रमा गएको भिड देख्दा हर कोहीको आँखा रसाउने गरेको बताएका छन् ।

शुक्रबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले विमानस्थलको भिड देख्दा पछिल्लो ३० वर्ष पटकपटक अवसर पाएका अग्रजलाई  ‘देश त हामीले बनाएको रहेछौँ नि’ भन्ने लाग्दैन भनेर प्रश्न गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिवाकोटीले अहिलेको निर्वाचन प्रणालीमा सामयिक सुधारका लागि पहल गर्न पनि अनुरोध गरे ।

“समावेशीको मूल मर्मलाई नमार्ने गरी निश्चित क्षेत्रमा निश्चित लिङ्ग र समुदायको प्रतिनिधीबीच मात्र प्रतिष्पर्धा गर्न पाउने गरी निर्वाचन पद्धतिलाई प्रत्यक्ष गर्न अन्य राजनीतिक दलसँग समेत संवाद गरी संविधान संशोधनका लागि पहलको निर्णय यो बैठकले गर्नुपर्दछ,” उनले भने ।

उनले केन्द्रीय सदस्य मनोनयनबारे पनि प्रश्न उठाए । उनले तल्लो तहमा पराजितहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु विधानमाथिको ठाडो हस्तक्षेप भएको बताए ।

"जुन मापदण्डले केही केन्द्रीय सदस्यज्यूहरू मनोनयनमा पर्नुभएको छ, त्यो मापदण्डमा अन्य प्रदेशका सभापतिका प्रतिष्पर्धीहरू किन पर्नुभएन ?," उनले भने ।

उनले भ्रातृ तथा शुभेच्छुक संस्था बनाउँदा एकलौटी गरिएको भन्दै प्रश्न गरे, “म केन्द्रीय समितिका सबै अग्रज तथा साथीहरूलाई पनि सोध्न चाहन्छु के तपाईं हामी आफैँले गरेको निर्णय मातहतका भ्रातृ संस्थाले लत्याउँदा आफ्नो निर्णयको लाज जोगाउन पनि त्यसको पक्षमा उभिनु पर्दैन ?”

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्