site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवनमा दुई हजार किलो माछा नष्ट

भरतपुर । चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोस्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरका प्रमुख शिरीष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैध रूपमा भित्र्याएको हुन सक्ने बताए । “बिलमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतापपुरको सुजु एन्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन,” उनले भने, “भारतबाट अवैध रूपमा भित्रिएको हुनसक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अवैध रूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् । ‘आइस’मा राखिएको माछा लु३च १७९४ नम्बरको गाडीमार्फत काठमाडौंतर्फ लैजान लागिएको थियो । जाँचका क्रममा प्रहरीको सहयोगमा बरामद गरिएको प्रमुख गौतमले जानकारी दिए ।

सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । “भौतिक रूपमा हेर्दा माछामा गन्ध आएको छ,” उनले भने, “अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।”

अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । ती माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँबराबर हुने गौतमले जानकारी दिए । तर, बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ ।
 
मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्र्याइने क्रम नरोकिएको बताए । उनले १० महिनाको अवधिमा चितवनमा मात्र चारपटक अवैध रूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए ।

बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

चितवनमा वार्षिक पाँच हजार मेट्रिकटन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा निर्यात समेत हुने गरेको छ । यहाँ करिब १५ किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी संघले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्