site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखराको फोहोर लामेआहालमै १८ महिनासम्म फाल्न पाउने गरी १० बुँदे सहमति

पोखरा । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आइरहेको वडा नं. ३२ स्थित श्यामघाटमा स्थानीयले १२ दिनसम्म फोहोर फाल्न दिएनन् ।

गत पुस १५ गते गरेको १६ बुँदे सम्झौताको पालना नगरेको र ६ महिने समयसीमा सकिएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका थिए । त्यतिमात्रै होइन, स्थानीय इच्छाबहादुर गुरुङको नेतृत्वमा संघर्ष समिति नै बनेको थियो । अर्कातर्फ स्थानीयहरू रविन केसी, तिथेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले फोहोर फाल्न नहुने भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतले साउन २१ गते फोहोर फाल्न रोक्न नहुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पोखरा महानगरपालिकाले १२औँ दिनमा सुरक्षाकर्मी परिचालन गरेर मंगलबार लामेआहालमा फोहोर बोकेका गाडी पुर्‍याएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Fohor Gadi Pokhara 11691598082.jpg

स्थानीय असन्तुष्ट रहे तापनि पुनः अवरोध आउन सक्ने सम्भावनाका बीच मेयर धनराज आचार्यले वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई साउन १८ गते पत्र लेखेर फोहोर व्यवस्थापनको अवरोध हटाई समाधान गर्ने जिम्मेवारी दिएका थिए ।

वडाध्यक्षद्वयको पहलस्वरूप स्थानीय, संघर्ष समिति र महानगरका बीच १८ महिना फोहोर फाल्न दिने सहमति भएको छ । यसअगाडि स्थानीयले ६ महिनाको मात्र सहमति भएको भने तापनि सहमतिमा समयसीमा तोकिएको थिएन ।

अहिले भने १८ महिना समयसीमा तोकेर पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विर्सजनका विरुद्ध गठित संघर्ष समिति, राजनितिक पार्टीका वडास्तरिय प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिकाबीच सहमति भएको छ । सहमतिपत्रको मस्यौदा तयार भए तापनि हस्ताक्षर भने बिहीबार हुने जनाइएको छ ।

यस्तो छ, सहमतिका १० बुँदा :

१) फोहोरमैला व्यवस्थापनका विरुद्ध गठित संघर्ष समितिका पदाधिकारी एवं सदस्यहरूलाई स्थानीय प्रशासन वा महानगरपालिकाले यसपछि कुनै खालको मुद्दा एवं कारबाही गरिने छैन ।

२) फोहोर व्यवस्थापनको समयावधि यो सहमति भएको मितिले १८ महिनासम्म हुने छ र सो अवधिमा पनि खाडल नपुरिए स्थानीयबासी र महानगरपालिका बीच पुन: सहमति गर्न सकिने छ ।

३) फोहोर व्यवस्थापन निम्नानुसार हुनुपर्ने छ ।

क) फोहोरका गाडी विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ । त्यसपछि तत्कालै माटोले पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्ने छ ।

ख) दैनिक माटोको व्यवस्थापन फोहोरको अनुपातमा हुनुपर्ने छ । साथै विर्सजनस्थल नजिक कम्तिमा पनि चारहजार घनमिटर माटो मौज्दात हुनु पर्ने छ ।

ग) फोहोरको गाडीमा ल्याईएको फोहोर वर्गीकरण नगरी सिधै विर्सजनस्थलमा लगेर व्यवस्थापन गर्नुपर्ने छ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री संकलन गर्न पूर्ण निषेध गरिएको छ ।

घ) क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाउनुपर्ने ।

ङ) पोखरा ३२ को सहरी स्वास्थ्यकेन्द्रको स्तरोन्नति गरी स्वास्थ्य प्रर्वद्धन केन्द्र स्थापना गर्नुपर्ने छ र अपुग दुईजना अनमी–१ र अहेब १ कर्मचारी तत्काल व्यवस्था गर्ने ।

च) वातावरणीय प्रभाव मूल्यांकनको कार्य तत्काल गर्नुपर्ने छ ।

छ) फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गरिने छ । 

ज) फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी किटनासक विषादी छर्कनुपर्ने छ ।

४. कालिका आधारभूत विद्यालयलाई रु. ७,००,०००।– गोगन मा.वि.लाई रु. २५,००,०००।–, हिमालय आधारभूत विद्यालयलाई ५,००,०००।– र सिता आधारभूत विद्यालयलाई रु. ५,००,०००/– तलब भत्ता निसर्त अनुदान उपलब्ध गराइने छ । साथै गुरुकुल संस्कृत विद्यालयलाई आवश्यक दरबन्दीका लागि पहल गरिने छ ।

५) प्रभावित क्षेत्रका विगतमा विभिन्न आयोगले बितरण गरेका सेतो जग्गाधनी पूर्जालाई मुल्यांकन गरी रातो बनाउने क्रममा जग्गाको मुल्यांकन कम गराउनका लागि महानगरपालिकाले पहल गर्ने छ ।

६) फोहोर मैला व्यवस्थापन स्थलको निर्माण, व्यवस्थापन लगायतका आवश्यक सम्पूर्णकार्यहरू महानगरपालिकालेनै गर्नुपर्ने छ ।

८) फोहोर मैला व्यवस्थापन स्थलमा महानगरपालिकाबाट आवश्यक कर्मचारी सहित कार्यालय स्थापना गर्नुपर्ने छ ।

९) हाल क्रियाशील संघर्षसमिति विघटन गरिने छ र उक्त समिति सहित वडास्तरीय क्रियाशील राजनितिक पार्टीका प्रमुख समेतको एक अनुगमन समिति बनाइने छ ।

१०) स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने छ ।

Fohor Gadi Pokhara 1 211691598082.jpg

सहमतिपत्र अनुसार महानगरका तर्फबाट वडाध्यक्षद्वय थापा र अधिकारीले अग्रसरता लिएका छन् । स्थानीयको तर्फबाट लामेआहालमा फोहोर विर्सजनकाविरुद्ध गठित संघर्ष समिति, राजनितिक पार्टीका वडास्तरीय प्रतिनिधि, प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका रोहबरमा सहमति पत्र तयार गरिएको हो । सहमतिपत्रको साक्षी भने वडा नं. ३२ का जनप्रतिनिधिहरू बसेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्