site stats
बाह्रखरी :: Baahrakhari
देश
इटहरीका जब सेन्टरमा उपमहानगरको अनुगमन, भ्रमपूर्ण विज्ञापन नराख्न निर्देशन

विराटनगर । सामाजिक सञ्जालमा विज्ञापन गरी आर्कषक तलब सुविधा दिने प्रलोभन देखाउने जब सेन्टरहरुमा इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको छ । सहजै मासिक ५० देखि ६० हजार कमाइ हुने भन्दै फेसबुकमा विज्ञापन गर्ने जब सेन्टरमा इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेको र सर्वसाधारण ठगीमा पर्न सक्ने देखिएकोले त्यस्ता कार्यालयमा अनुगमन गरिएको मेयर पौडेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केही दिनदेखि सामाजिक सञ्जालमा ६० हजारसम्म तलब दिने भन्दै विज्ञापन आइरहेको मैले पनि देखेको थिएँ त्यसको वास्तविकता बुझ्न अनुगमन गरिएको हो,” पौडेलले भने । विभिन्न सामान बेच्नका झुटा विवरण राखी झुटो विज्ञापन गरेको पाइएको पौडेलले बताए ।

सुनसरीमा जब सेन्टरहरुले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्टमै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन मेयर पौडेलले आग्रह गरेका छन् ।

यस्ता कम्पनीले ठूलो भवनमा कार्यालय खोलेर काम गर्ने र कमिसनको लागि कर्मचारीहरुले विज्ञापन गरेको स्वीकार गर्दै आगामी दिनमा यस्तो नगर्ने प्रतिवद्धता जनाएका छन् । छलफलका लागि उपमहानगरमा आउन उनीहरुलाई निर्देशन दिइएको पौडेलको भनाइ छ ।

Itahari Anugaman (1)1691308966.jpg

विशेष गरी पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयरसहितको टोलीले अनुगमन गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेले सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्न नहुने र सर्वसाधारणलाई झुक्याउने काम गलत भएको बताए । उनले भने, “यस्ता विज्ञापन नरोके कारबाही अघि बढाउँछौँ ।”

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्