site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीमा बहस : गाउँ फर्किने कि पार्टी विघटन गर्ने ? 

काठमाडौं । सतारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा पार्टी बिग्रिएको भन्दै पुनर्निर्माण गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका छन् । अधिकांश नेताहरूले 'गाउँ फर्कने कि पार्टी विघटन गर्ने' अवस्थामा पुगेको टिप्पणी गरेका छन् । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा नेताहरूको जोड छ ।

त्यसो त बुधबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी पार्टीजस्तो बन्न नसकेको टिप्पणी गरेका थिए । उनले बिहीबार सञ्चारकर्मीसँग पार्टीमा समस्या रहेको र पार्टीलाई नयाँँ ढंगबाट लैजानुपर्ने भएकाले त्यस्तो धारणा राखेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

'गाउँ फर्कने कि पार्टी विघटन गर्ने ?'

आजको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा पुनर्गठन गर्नुपर्ने बताए । सुशासन, समृद्धि, स्वाधीनता, समाजवाद प्राप्तिका लागि क्रान्तिकारी र बलियो पार्टी बनाउनुपर्ने उनको जोड थियो । 

“वैचारिक रूपमा पुनर्गठन गर्नुपर्छ । यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ,” श्रेष्ठले भने । 

उनले अध्यक्ष प्रचण्डले बुधबारको बैठकमा पेस गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावको समर्थन गर्दै पार्टीलाई जनतामा जोड्नपर्नेमा जोड दिएको नेताहरू बताउँछन् ।

“अध्यक्षको मूल स्प्रिट ठिक छ । मूल कुरा, जनताबाट हामी जनताबाट टाढा भयौँ । जनताको बीचमा जानुपर्छ,” श्रेष्ठले बैठकमा भने । 

NarayanKaji1691075202.jpg

उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेको बताए  । नेताहरू सहरमुखी भएकाले त्यस्तो अवस्था उत्पन्न भएको उनको टिप्पणी थियो । 

“पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेका छौँ,” बैठकमा महराले भनेका छन्, “सहरमुखी भएकाले माओवादी बिग्रिएको हो ।”

उनले गाउँ फर्किन तयार भए पार्टी बन्ने समेत बताए । “गाउँ फर्किन तयार छौँ कि छैनौँ ? पार्टीको भविष्य त्यसैमा छ । गाउँ फर्किएर सच्चिनुपर्छ ।”

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा पार्टीमा अब तीन महिने अभियान चलाउने र केन्द्रीय सदस्यहरूलाई वडातहमै खटाइने उल्लेख छ । 

'माओवादी र संसद् एकै ठाउँमा हुँदैन'

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादलाई संसदीय राजनीतिमा रहनै नसक्ने जिकिर गरेका छन् । 

“माओवाद सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ पनि छैन । अहिले हामी माओवादलाई संसदीय राजनीतिमा प्रयोग गरिरहेका छौँ । माओवादी संसदीय हुन सक्दैन । यो संसद्‍मा टिक्न सक्दैन,” न्यौपानेले ठोकुवा गरे । 

विचार र व्यवहारबीच तादात्म्य नमिल्दा पार्टी ओरालो लागेको उनको टिप्पणी छ । “विचार र व्यवहारबीच साइकल नभएको कम्युनिस्ट हुन सक्दैन । माओवादीमा यो साइकल भताभुङ्ग लथालिङ्ग छ,” उनले बैठकमा भने, “विचारअनुसारको व्यवहारमा तादात्म्य नमिल्दा अन्योल भएको छ ।”

Lekhnath Pandey1691075209.jpg

उनले माओवादीको ओरालो यात्रा फेदमा नपुगेसम्म नरोकिने समेत बताए । “माओवादीको ओरालो यात्रा फेदमा नपुगुन्जेल रोकिँदैन । यसलाई रोक्ने वैचारिक निकास र व्यावहारिक कोसिस भएको छैन,” न्यौपानेले भनेका छन् । 

'नेतृत्वका लागि चुनाव गरौँ'

केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद माधव सापकोटाले नेतृत्व कार्यकर्ताबाटै चुन्नपर्ने धारणा राखेका छन् । उनले वडातहबाटै निर्वाचित हुने व्यवस्था गरिए सुल्टोबाटोबाट अघि बढिने बताए । 

“पार्टी विधिमा लैजाऔँ, निर्वाचित हुने पद्धति वडाबाट निर्वाचित हुने प्रणाली अबलम्वन गरे सुल्टो दिशामा फर्कन्छ, यसले कार्यकर्ताप्रति जवाफदेही हुन्छ । नेताले तोक्दा नेतृत्वप्रति जवाफदेही बनाउँछ,” बैठकमा सापकोटाले भनेका छन् । 

सापकोटाले पटकपटक सांसद र मन्त्री र भएकाहरू मात्र नभएर स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका समीक्षा र मूल्यांकनको पनि विषय बैठकमा उठेको जानकारी दिए ।

Maobadi Baithak1691075206.jpg

'पार्टी पदाधिकारी र स्थायी कमिटीका नेताले बिगारे'

केन्द्रीय सदस्य दलजित श्रीपालीले पार्टी बिग्रेको नभएर पदाधिकारीहरूबाट बिगारिएको आरोप लगाए । उनले अध्यक्षले मात्रै नभएर मञ्चमा रहेका पदाधिकारी पार्टी बिगार्नमा बढी भागेदारी रहेको बताए । 

“पार्टी बिग्रिएको होइन । बिगारिएको हो । मञ्चमा अध्यक्षको वरिपरि बस्नेहरूले बिगारेको हो । म केन्द्रीय सदस्यले कति जिम्मेवारी लिनुपर्छ लिन्छु,” श्रीपालीले भनेका छन्, “सबैले आआफ्नो जिम्मेवारी लिनुपर्छ ।”

गुटबन्दी र स्वार्थ समूहका कारण पार्टी कमजोर भएको उनको ठम्याइ छ । जनतालाई दोष देखाएर पार्टी नबन्ने उनको भनाइ छ । 

“पदाधिकारी स्थायी कमिटीबाटै पार्टी कमजोर भएको हो । पार्टीभित्र स्वार्थ समूह गुटबन्दी भयो । त्यसले पार्टी कमजोर बनेको हो । मुख्य दोष जनतालाई दिएर हुुँदैन,” उनले बैठकमा राखेको धारणा बाह्रखरीलाई सुनाए । 

उनले माओवादी जनयुद्धको लिगेसी बोकेकाहरू एकता हुनुपर्ने माग पनि गरेका छन् । उनले पार्टीका नेताहरूको सामाजिक र सांस्कृतिक विषयमा एकरूपता कायम गर्न पनि माग राखेको सुनाए । 

“जनयुद्ध कालमा अन्तरजातीय विवाह थियो । समाजिक, सांस्कृतिक रूपमा एकरूपतामा कसरी ल्याउने ? विवाहदेखि मृत्युसम्म कसरी जाने भन्नेमा ध्यान दिनुपर्‍यो,” उनले बैठकमा भनेका छन् । 

'निर्मम समीक्षा गरौँ'

नेता हितबहादुर तामाङले पार्टीलाई नयाँ बनाउने र एकल प्रतिष्पर्धामा लैजाने अध्यक्षको प्रस्ताव सफल बनाउनका लागि विगतका कमजोरीहरूको निर्मम रूपमा समीक्षा गर्नुपर्ने औँल्याएका छन् । विगतमा सरकार र पार्टीले गरेको कामको निर्मम समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

“अध्यक्षले पार्टीलाई नयाँ बनाउने र एकल प्रतिस्पर्धा गर्न सक्ने र ठूलो पार्टीको रूपमा विकास गर्ने भन्ने कुरा राख्नुभएको छ । त्यसो  गर्दा  विगतको समग्र पाटा पक्षको निर्मम ढंगले समीक्षा गनुपर्छ,” उनले बैठकमा राखेको धारणा सुनाए, “पार्टीको काम वा सरकार सञ्चालनका सवालमा हिजो ठिक गर्‍यौँ कि बेठिक गर्‍यौँ । अपेक्षा राखे अनुसारको परिणाम दियो कि दिएन । दिएन भने कसको कमजोरीको कारणले दिएन । कुन कारणले त्रुटि भयो भन्ने समीक्षा गरेर चाहेको कुरा प्राप्त गर्न असम्भव हुँदैन ।”

Maoi1691075202.jpg

सदनमा सांसद भएनन् !

नेताहरूले प्रतिनिधिसभामा सांसदहरूले भूमिका खेल्न नसकेको भन्दै आलोचना गरेका छन् । सदनबाट विपक्षीलाई जवाफ दिन सांसदहरू चुकेको आरोपसमेत लगाए ।

“सदनमा चौतर्फी आक्रमण भइरहेको हुन्छ । केहीअघि प्रधानमन्त्री बोल्दै नै रोकियो । त्यतिबेला सांसदहरूले नियमापत्ति गर्नुपर्थ्यो । बोल्नुपर्थ्यो । सांसहदहरूको भूमिका प्रभावकारी बन्न सकेन,” केन्द्रीय सदस्य श्रीपालीले बैठकमा भने । 

अरू नेताहरूले पनि सदनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्