site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त रबाव फतिमाबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसंघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने र आपसी सरोकारका विभिन्न विषयमा छलफल भएको न्युयोर्कस्थि नेपालको स्थायी नियोगले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले पनि महत्त्वपूर्ण छलफल भएको ट्विटरमार्फत प्रतिक्रिया दिएकी छन् । उनले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडीसी)को अध्यक्षका रूपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई धन्यवाद दिएकी छिन् ।

यसैबीच, उपाध्यक्ष डा. श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज)मा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघले न्युयोर्कमै आयोजना गरेको उच्चस्तरीय राजनीतिक फोरममा बिहीबार उनले एसएमइजमा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्र नभएको बताए । एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि हुने उनले उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा संघीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्यसचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव र अरू अधिकारी एवम् संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्