site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलका दुई सुन पसल ‘सिल’

रुपन्देही । रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ ।

नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झन्डै साढे दुई किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाका हुँदै भारततर्फ जान लागेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कारलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मको टोलीले चेकजाँच गर्दा सो सुन बरामद गरिएको थियो ।

उक्त सुन प्रकरणमा बुटवलको अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल ‘सिल’ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले दुवै पसलमा सिल गरी थप अनुुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताए ।

“सुन बरामदका विषयमा को कसको संलग्नताका विषयमा अनुसन्धान जारी छ । यसबारेमा सबै कुरा अहिलै भन्न सकिँदैन,” उनले भने, “पसललाई सिल गरी अनुसन्धान भइरहेको छ । पछि यसबारे जानकारी आउँछ ।”

कालीदह नाकामा सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्