site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
वीर हनुमान

शनिबार बिहान रामायण आउँथ्यो, टेलिभिजनमा । तिनताक हाम्रो पूरै बाल्यकाल रामायणमय भएको थियो ।

क्याप्टेन काकाको घरमा एक डालो मकै छोडाउन सघाएपछि हामी भुराभुरीले श्यामश्वेत टेलिभिजनमा रामायण हेर्न पाउँथ्यौँ । 

आहा, सुरुमै आउने त्यो भक्ति गीत ! आहा, ती एक एक दृश्यहरू ! क्या गज्जब थिए ती दिन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म आफूलाई पूरा विश्वास थियो, रामायणको वीर हनुमान मै हुँ ! त्यो पहाड उचाल्ने शक्तिशाली व्यक्ति मै हुँ ! समस्या त तब पैदा भयो, जब थाहा पाएँ कि रमेश पनि आफूलाई वीर हनुमान मान्दो रहेछ ।

अनि, हाम्रो आत्मीय सम्बन्धमा खल्लोपन पैदा भयो । बोलचाल कम हुन थाल्यो । हामीमध्ये को वीर हनुमान भन्ने विषयमा सहमति जुटाउन साथीहरूबीच गुटबन्दी नै गर्न थाल्यौँ ।

मैले थुप्रैचोटि प्रस्ताव राखेँ, ‘बरु, तँ भगवान् राम लैजा ! बालि या सुग्रीव या अंगद जोसुकै लैजा, तर हनुमानचैँ मलाई छोड् ! तर, ऊ टसका मस भएन ।

त्यसपछि स्थिति भिडन्त नै हुने गरी बिग्रिँदै गयो ।

एक दिन स्कुलबाट घर फर्किंदै गर्दा लाँकुरीको फेदमा रमेशले मलाई रामायणकै संवाद शैलीमा लल्कार्यो, “लु आइज, आज जसले जित्छ उही हनुमान !” 

अनि पर्यो, हाम्रो लाप्पा । लछारपछार, गुल्टागुल्टी चलिरह्यो । अचानक  हेडसर आइपुग्नुभयो । म हत्तपत्त भागेर अलिक तलतिर पुगेँ । रमेशलाई भने च्याप्प समाएर हप्काउनुभयो, “घर नगएर बाटोबाटो झगडा गर्छस् ?”

अनि, एक लात्ता हानेर भन्नुभयो, “भाग्, तँलाई हनुमान !” 

रमेशले मतिर हेर्दै उत्साहले चिच्यायो, “ओइ हरिश, सुनिस् !” 

मेरो अनुहार खिस्रिक्क भइसकेको थियो !

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्