site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
केदारनाथ शर्माको ठगी : २१ वटामा एकल, ९ कम्पनीमा श्रीमतीको नाममा लगानी

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाबाट बचत उठाएर केदारनाथ शर्माले ४३ वटा कम्पनीमा लगानी गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार यी ४३ वटा कम्पनीमा शर्मा अध्यक्ष भएकै सहकारीबाट ऋण लिएर नतिर्नुका साथै ती कम्पनीको प्रमुख लगानीकर्ताका रूपमा शर्मा नै छन् ।

शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष हुन् भने तुलसी बहुमुखी सहकारीका अध्यक्ष हुन् । यी दुई सहकारीबाट बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ ठगी गरेको आरोपमा शर्मालाई सोमबार सीआईबीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट पक्राउ गरेको थियो ।   

शिवशिखर बहुउद्देश्यीय सहकारीका एक लाख ६८ हजार ७२५ जना बचतकर्ताहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ फिर्ता नगरेको सीआईबीमा उजुरी दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, मोरङको विराटनगरमा केन्द्रीय कार्यालय भएको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ जना बचतकर्ताले बचत तथा मुद्दती खाता खोली एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९९ रुपैयाँ जम्मा गरेकोमा उनीहरूको रकम पनि फिर्ता नदिएको भन्दै उजुरी दिएका थिए ।

यी दुई सहकारीले बचतकर्ताको बचत फिर्ता नगरी प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू, आफन्त र नजिकका नाताको नाममा घरजग्गा र गाडी खरिद गरेको पाइएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए ।

“हामीले सहकारीको ठगीलाई सिधै हेर्न मिल्दैन । सहकारी विभागले कारबाही गर्न अनुरोध गरेपछि हामीले काम अगाडि बढाउने हो,” उनले भने, “यो सहकारीको मुख्य व्यक्तिलाई हामीले पक्राउ गर्न ठूलो कसरत गर्न परेको थियो । हामी पक्राउ गर्न पनि सफल भयौँ । अब ऐन कानुनअनुसार काम कारबाही अगाडि बढ्छ ।”

शिवशिखर सहकारीको केन्द्रीय कार्यालय भक्तपुरको कौशलटारमा रहेको छ भने ३५ वटा जिल्लाबाट सेवा दिँदै आएको छ । तुल्सीको केन्द्रीय कार्यालय मोरङको विराटनगरमा छ भने झापा, सुनसरी र उदयपुरमा रहेका शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

यी दुई सहकारीबाट उठाएको बचत रकम आफ्ना नजिकका व्यक्तिहरूको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरूमा ऋण लगानी गरी उक्त रकमको सावाँ ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको अधिकारीले बताए । उनका अनुसार ४३ कम्पनीमध्ये २१ वटा कम्पनीमा शर्माको एकल लगानी रहेको छ । यी कम्पनीमा पनि आफू नेतृत्व रहेका सहकारीबाट ऋण लिएको पाइएको छ । त्यस्तै, उनकी श्रीमती गीता शर्माको ९ वटा कम्पनीमा एकल लगानी रहेको खुलेको छ ।

त्यसैगरी बाँकी १२ वटा कम्पनीमा सामूहिक लगानी रहेको छ । ती कम्पनीहरूमा पनि प्रमुख लगानीकर्ता शर्मा नै छन् । नेपा टेकनोलोजी प्रा.लि.मा राजु शखकर्मीको एकल लगानी रहेको छ । यस कम्पनीले शर्मा अध्यक्ष रहेको सहकारीबाट ऋण लिएर फिर्ता नगरेको बताइएको छ ।

शर्माकी श्रीमतीलाई पनि यसअघि नै सीआईबीले पक्राउ गरिसकेको छ । त्यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारी सदस्य पुष्कर मल्ललाई पनि पक्राउ गरिएको छ ।

कहाँ छ लगानी ?

ShivaShikhar1687957763.jpgShivaShikhar 21687957763.jpg

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्