site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खाँणबारे निर्णय गर्न सभापति देउवाको प्रतीक्षामा कांग्रेस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पूर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दिएको आदेशमा खाँणसहित १६ जना पूर्पक्षका लागि थुनामा छन् ।

खाँण केन्द्रीय कारागार सुन्धारा चलान भएपछि उनलाई निलम्बन गर्न पार्टीभित्र दबाव छ । दोस्रो पुस्ताका नेताहरूले उनी प्रकाउ पर्नेबित्तिकै निलम्बन गर्नुपर्ने र अनुसन्धानमा सहयोग गर्नुपर्ने माग गरेका थिए । तर, सभापति शेरबहादुर देउवा खाँणको पक्षमा दृढ भएर उभिएपछि उनी निलम्बनबाट जोगिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला अदालतले उनलाई पूर्पक्षमा पठाएपश्चात् भने खाँणलाई निलम्बन गर्नुपर्ने आवाज चर्को छ । खाँणलाई संरक्षण गर्दा पार्टीप्रति जनआक्रोश र अलोकप्रियता चुलिएको छ । यसलाई सम्बोधन गर्नुपर्ने र खाँणको विषयमा निर्णय गर्नुपर्ने आवाज देउवानिकट नेताहरूले नै उठाउन थालेका छन् ।

“पब्लिकमा आक्रोश छ । यसले पार्टीप्रति हेर्ने दृष्टिकोण पनि खराब भएको छ,” देउवाका विश्वासपात्र रहेका एक केन्द्रीय नेताले भने, “सधैँ यसरी संरक्षण गरिरहनु हुँदैन भन्ने पक्षमा पुगेका छौँ । अझ सुन्धारा चलान भएपछि यो विषयमा निर्णय गर्न ढिला भएको हामीलाई पनि महसुस भएको छ ।”

ती नेताका अनुसार अहिले पार्टी सभापति शेरबहादुर देउवा सिङ्गापुरमा भएका कारण निर्णय गर्न नसकिएको हो । सिङ्गो पार्टीको विषय भएको र पदाधिकारी तहले मात्र निर्णय गर्न नमिल्ने भएकाले उनलाई निलम्बनको प्रस्ताव अघि बढाउन नसकिएको हो ।

“सभापति बाहिर हुनुहुन्छ । पदाधिकारीहरूको बीचमा चाहिँ व्यक्तिले निर्णय दिने कुरा भएन, पार्टीमा छलफल गर्नुपर्छ भन्ने कुरा भएको छ,” ती नेताले भने, “अहिलेसम्म यसरी मुद्दा लागेकाहरूलाई पार्टीले निलम्बन गरिहालेको अवस्था नरहेकाले अब के गर्ने भन्ने विषयमा अन्योल छ । जनभावनाको कुरा पनि बुझेर सम्मान गर्दै त्यहीअनुसार निर्णयमा पुग्नुपर्ने देखिन्छ ।”

देउवानिकट ती नेताले सभापति देउवा नेपाल आएपश्चात् केन्द्रीय समिति बस्ने र यो विषयमा निर्णयमा पुग्ने गरी आफूहरूले तयारी गरेका बताए ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्