site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा बाढी : क्षतिको निरीक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह
तस्बिरहरू : सुजन बज्राचार्य/रासस ।

काठमाडौं । संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।

संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर संखुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटमा सांसद खड्काले संखुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुर समेत बेपत्ता भएको प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए । साथै, उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए ।

badhi sankhuwasava31687062481.jpg

भेटमा प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन समेत दिइसकेको बताए । बाढीले पुर्‍याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले बताए ।

प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए ।

संखुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । रासस

badhi sankhuwasava11687060089.jpg

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्