site stats
बाह्रखरी :: Baahrakhari
देश
मेची राजमार्ग अवरुद्ध, गाउँघर अन्धकार

पाँचथर । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–फिदिमखण्ड अवरुद्ध भएको छ । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए । तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिरोको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ ।

प्रहरीका अनुसार इखोलामा रहेको बीबीएसल पुल समेत पहिरोमा परेको छ ।

उता, तमोर नदी र मैवाखोलामा बढेको पानीको बहावले नदीतटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ ।

मोटरेबल पुलनजिक खसेको पहिरोले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कविच्छेद भएको डीएसपी लिम्बूले जानकारी दिए ।

यस्तै, सिरिजंघा गाउँपालिका–४, तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिरोले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ ।

विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढी–पहिरोले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन् । गए रातिको वर्षा, बाढी र पहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले संकलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ । रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्