site stats
बाह्रखरी :: Baahrakhari
देश
‘नक्कली शरणार्थी बन्न तयार हुनेलाई किन अनुसन्धानमा नतानिएको श्रीमान् ?’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गरेका वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले इजलासमा आफ्नै पेसाको बचाउ गरेका छन् । कुनै पक्षको बहस गरेकै आधारमा मिडियाले नकारात्मक टिप्पणी गरेको भन्दै खातीले मिडियामा आउने विषयवस्तुमाथि प्रश्न उठाएका हुन् ।

आफूहरूले आचारसंहिताले दिएको काम गर्दा पनि पछिल्ला दिनमा कानुन व्यवसायीविरुद्ध समाचार लेखिएको उनको आरोप थियो । 

“तीन पूर्वमहान्यायाधिक्ताको फोटो राखी अपराधीलाई बचाउन लागे भनेर समाचार लेखियो,” खातीले प्रश्न गरे, “हाम्रो आचारसंहिताले वकालत गर्न कहाँनेर रोक्छ श्रीमान् ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खाँणको बचाउमा यस्ता तर्क 

वरिष्ठ अधिवक्ता खातीले २२ दिनसम्म ठगी अनुसन्धान गरेर निर्दोषलाई पनि अनुसन्धानमा तान्ने नियतले संगठित अपराधमा परिणत गरिएको जिकिर गरे । 

“२२ दिनसम्म ठगीको अनुसन्धान गरेर २३औँ दिनमा त्यसलाई संगठित अपराधमा परिणत गरियो,” खातीले भने, “१०५ वटा कोलममा पैसा दिएको/लिएको लेखिएको छ । तर कसले लिएको हो भन्ने समेत उल्लेख छैन ।”

उनले खाँणको संलग्नता पुष्टि नहुँदा पनि जबजर्स्ती दोषी करार गर्ने प्रयास भएको दाबी गरे । उनले नक्कली शरणार्थी बन्ने काम नै गैरकानुनी भएकाले 'नक्कली भुटानी शरणार्थी बन्न तयार हुनेहरूलाई अनुसन्धानमा किन नतानेको ?' भनेर प्रश्न गरेका थिए । 

“नेपालीबाट भुटानी शरणार्थी बन्न खोज्ने कार्य अवैध हो । यसरी आफैँ अपराध गरिरहेका व्यक्तिविरुद्ध अनुसन्धान नगर्ने श्रीमान् ?,” खातीको प्रश्न थियो, “बिगो पनि हचुवाको भरमा कायम गरिएको छ । त्यो २६ करोडको बिगो कुन आधारमा कायम गरिएको हो ?”

खातीले ठगीबारे किटानीसमेत गर्न नसकेको अभियोगपत्रले बिगो कायमको आधार नै दिन नसकेको जिकिर गरे ।

“प्रतिव्यक्ति यसले यति लिएर ठगी गरेको लेख्नुपर्ने हो । यो अभियोगपत्रमा सबै गोलमटोल छ,” खातीले भने, “२६ करोड बिगो कायम हुने आधार दिनु पर्दैन ?”

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्