site stats
बाह्रखरी :: Baahrakhari
देश
दुम्कौलीमा तापक्रम ४४ डिग्री पुगेपछि गरियो ‘इन्द्र पूजा’, नारायणी नदी पुगेर मागियो पानी 

नवलपुर । लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ ।  देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् । 

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए ।  

कति हो नेपालको हालसम्मकै उच्च तापक्रम ? यो वर्ष ‘रेकर्ड ब्रेक’ हुने हो ?

इन्द्रको पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै भेला भएर इन्द्र पूूजा गरिएको उनले बताए । उनले भने, “देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौँ ।” जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताए । “घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झर्यामझुरुम भएर सुकेको छ”, उनले भने, “मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ ।” इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्