site stats
बाह्रखरी :: Baahrakhari
देश
बजेटले नसमेटेको भन्दै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागु गर, सहमति सम्झौता कार्यान्वय गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको अवस्थामा सरकारले आफूहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

आफूहरुको मागका विषयमा सरकारसँग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफूहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्