site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्– बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ
फाइल तस्बिर।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुमाथि थप अनुसन्धान भइरहेको बताएका छन् । 

बिहीबार नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भन्दै उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए । उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए ।

“जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ,” उनले भने, “हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन सुशासन अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तबमात्रै समृद्धि हासिल हुनेछ ।”

देशको नागरिकलाई अनागरिक बनाएर विदेश पठाई सम्पत्ति कमाउने काम सह्य नहुने बताउँदै उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

“आफ्नै देशको नागरिकलाई अनागरिक बनाई अर्काको देशको शरणार्थी बनाई विदेश पठाई सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ,” उनले भने, “अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु ।”

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्